काठमाडौं । नेकपा एमाले गोकर्णेश्वर नगरपालिका अर्घौतेश्वर टोल कमिटी, काभ्रेली गेट टोल समिति र सरलरेखा डटकमको संयुक्त आयोजनामा शुभकामना चियापान तथा काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार परिचय कार्यक्रम सम्पन्न भएको छ ।
बुद्धचोक नयाँवस्ती, जोरपाटीमा अवस्थित काभ्रेली गेट कोलोनीमा आइतवार साँझ आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार,निवर्तमान सांसद तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य कृष्णबहादुर राई, वागमती प्रदेशसभा सदस्य काठमाडौं क्षेत्र नम्बर ३ (क) का उम्मेदवार चन्द्रमान लामा र वागमती प्रदेशसभा सदस्य काठमाडौं क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) का उम्मेदवार तथा पूर्व प्रदेशमन्त्री, नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामेश्वर फुयाँलको विशेष उपस्थिति रहेको थियो । यस्तै काठमाडौं क्षेत्र नम्बर ३ नेकपा एमालेका समानुपातिकतर्फका उम्मेदवार शान्ति श्रेष्ठसहित नेकपा एमालेका नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
स्थानीय युवा नेता दीपेन्द्र दोङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर राईले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेको जीत सहज र सुनिश्चित रहेको बताउनुभयो । गठबन्धनभित्रको किचलो नै एमालेको जीतको बलियो आधार रहेको उहाँको भनाइ थियो । राष्ट्रियता, लोकतन्त्र,स्थानीय विकासका साथै समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने दल नेकपा एमाले मात्र भएको उहाँले बताउनुभयो ।
यस्तै काठमाडौं क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) का उम्मेदवार तथा पूर्व प्रदेशमन्त्री, नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामेश्वर फुयाँलले नेकपा एमाले मात्र विकासवादी पार्टी भएको बताउनुभयो । गठबन्धनको स्वरुप र अवधारणा नै अस्थिर र स्वार्थनिहीत रहेकोले आगामी निर्वाचनमा ती दलहरुलाई जनताले सबक सिकाउने उहाँले दाबी गर्नुभयो । नेकपा एमालेको लालकिल्लाका रुपमा रहेको काठमाडौं क्षेत्र नम्बर ३ विकास निर्माणमा पनि अगाडि रहेको उहाँले जिकिर गर्नुभयो ।
कार्यक्रममा वागमती प्रदेशसभा सदस्य (क) का उम्मेदवार चन्द्रमान लामाले आफ्नो उम्मेदवारी नै यहाँका जनताहरुको भावनाप्रेरित भएको बताउनुभयो । आफू बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष हुँदा भएका कामकारबाहीहरुको इतिवृत्त सुनाउदै उहाँले प्रदेशसभामा जितेर गएपछि अझ बढी जनताको भावना र मर्म अनुसार काम गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
राष्ट्रिय युवा संघका सचिवालय सदस्य गोविन्द तामाङ, नेकपा एमाले अर्घौतेश्वर टोल कमिटीका इञ्चार्ज प्रेम कार्की, सदस्य मीना तामाङलगायतको सक्रियतामा सम्पन्न कार्यक्रमको शुरुवाती सञ्चालन टोल कमिटीका सचिव लक्ष्मी उदासले गर्नुभएको थियो भने बाँकी कार्यक्रमलाई नेकपा एमाले गोकर्णेश्वर नगरपालिका ५ नम्बर वडा कमिटीका उपाध्यक्ष लीलामणी खतिवडाले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमका अतिथिहरुलाई दाङबोला तामाङ ग्योइठीमका कलाकारहरुले तामाङ मौलिक रीमठीम अनुसार डम्फू बजाइ सगुन राखेर स्वागत गरेका थिए ।