- प्रकाश दाहाल / आइएनएस-स्वतन्त्र समाचार
मकवानपुर । सुगम क्षेत्र अनि सहरी सुखभोग रोजेका कारण मकवानपुरका ग्रामीण बस्तीमा जनसंख्या क्रमशः पातलिदै गएका छन्। ग्रामीण क्षेत्रमा विभिन्न सेवा सुविधाहरू पर्याप्त नभएपछि रित्तिने क्रम बढ्नु त स्वाभाविक नै हो तर सबै कुरा घर अगाडि नै आइपुगेका गाउँबाट समेत मानिस सहर पस्न थाल्नुको कारणचाहिँ यहाँ नीति निर्माताले पनि बुझ्न सकेका छैनन। ग्रामीण क्षेत्रमा घनाजङ्गल नजिकै हुने र विभिन्न वन्यजन्तुका त्रास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा यातायातको कठिनाइका कारण पनि शहर या सदरमुकाममा आकर्षण बढ्दै गएको देखिन्छ।
पालिकाको बसाइँसराइको तथ्याङ्क हेर्दा शहरी क्षेत्रमा बसाइँ सरेर आउने दर उच्च देखिएको छ भने ग्रामीण क्षेत्रमा बसाइँ सरेर जाने अत्यन्तै कम देखिएको छ। मकवानपुरका १० वटा पालिका मध्ये हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा भने बसाइँ सरेर जाने भन्दा आउनेको संख्या बढि देखिएको छ। बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकामा २०७८ सालमा मात्र बसाइँ सरेर १ हजार २ परिवारका ३ हजार ६८७ जना आएका छन् भने ५६० परिवारका १ हजार ९३४ जनाले मात्र उपमहानगरपालिका छोडेका छन्। २०७७ सालमा १ हजार ८५२ परिवार बसाइँ सरी आएका छन् भने ८ सय ४ परिवार बसाइँ सरी गएको तथ्याङ्क छ। यसैगरी २०७६ सालमा ४६० परिवार बसाइँ सरी आएका थिए भने २५० परिवार हेटौडाबाट अन्यत्र गएका थिए।
बागमती प्रदेशको राजधानी भएका कारण पनि हेटौडा उपमहानगरपालिकामा बसाइँ सरेर आउनेको लहर बढेको छ।
यता मकवानपुरको विकट भनेर चिनिने कैलाश गाउँपालिकाबाट बसाइँ सरेर जाने दर बढ्दो छ। सो पालिकामा २०७६ सालमा बसाइँ सरी जाने १०४ परिवारका २६३ जना थिए भने बसाइँ सरेर आउने ४ परिवारका जम्मा १४ जना मात्र थिए। यसैगरी २०७७ सालमा २०० सय परिवार पालिका बाहिर बसाइँ सरेर गएभने १७ परिवार कैलाश गाउँपालिकामा भित्रिएका थिए। यस्तै २०७८ सालमा २०७७ सालमा भन्दा कम बसाइँसराइ भएको छ। गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार १०४ परिवारका ४१३ जना बसाइँ सरी गएभने १२ परिवारका ६८ जना बसाइँ सरी आएका छन्।
यता मकवानपुरकै मनहरी गाउँपालिकामा हेटौडा उपमहानगरपालिकामा जस्तै बसाइँ सरेर आउने बढी देखिएको छ। मनहरीमा गएको ३ वर्षको तथ्याङ्क हेर्ने हो भने २०७६ सालमा ९२ परिवार पालिका बाहिर गएको देखिन्छ भने १४५ पालिकामा बसाइँ सरेर आएको देखिन्छ। २०७७ सालमा १९ परिवार गएको देखिन्छ भने ४५ परिवार आएको देखिएको छ। २०७८ सालमा २०९ परिवारका ८२९ जना बसाइँ सरी आएका छन् भने १२० परिवारका ४३४ जना बसाइँ सरी अन्यत्र गएका छन्।
यता गाउँपालिका भएपनि मनहरीमा भने बसाइँ सरेर आउने दर उच्च रहेको छ। पूर्व पश्चिम राजमार्गमा पर्ने यो गाउँपालिकाको सिमानामा मकवानपुरका विकट कैलाश गाउँपालिका र राक्सिराङ्ग गाउँपालिकाका मानिसहरू प्राय बसाइँ सरेर आउने गरेका छन्।
मकवानपुरको अर्को नगरपालिका थाहा नगरपालिकामा २०७६ सालमा १३ परिवार आएका थिए भने २७ परिवार बसाइँ सरी गएका थिए। २०७७ मा १९ परिवार बसाइँ सरेर आएका थिए भने ६३ परिवार बसाइँ सरी गएका थिए। यस्तै गएको वर्ष २०७८ मा ३६ परिवारका ११९ आए भने ७३ परिवारका २८९ जना बसाइँ सरी गएका छन्।
यस्तै मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा पनि बसाइँसराइको दर बढेको छ। २०७६ मा १८ परिवार बसाइँ सरी आए भने ८० परिवार बसाइँ सरी गएको देखिएको छ। यस्तै २०७७ सालमा १५ परिवार बसाइँ सरी आएको १९७ परिवार गएको र २०७८ मा २९ परिवार आएको र ९२ परिवार बसाइँ सरी गएका छन्। यसैगरी राक्सिराङ्ग गाउँपालिकामा २०७६ सालमा ७ परिवार बसाइँ सरी आएको देखिन्छ भने ८८ परिवार पालिका छोडेर अन्यत्र बसाइँ सरेको देखिएको छ। यसैगरी २०७७ सालमा ७ परिवार आएको र ४०५ परिवार गएको तथा २०७८ सालमा ११ परिवार पालिकामा बसाइँ सरी आए भने १६४ परिवार बसाइँ सरी गएका छन्। यस्तै मकवानपुरगढी गाउँपालिकामा ६३ जना बसाइँ सरी आएका छन् भने १४७ जना गएका छन्, २०७७ सालमा १२७ जना आएका र ५२६ जना गएको देखिएको छ भने २०७८ सालमा ४६० जना बसाइँ सरी गएका छन् भने १ हजार १२९ जना पालिकामा बसाइँ आएका छन्।
इन्द्रसरोवर गाउँपालिकामा २०७७ सालमा एउटा परिवार पालिकामा बसाइँ सरेर आएको थियो भने १७ परिवार बसाइँ सरेर गएको थियो। २०७८ सालमा ८ परिवार बसाइँ सरी आएको छ भने ३१ परिवार बसाइँ सरेर अन्यत्र गएको छ। यसैगरी मकवानपुरको पूर्वी बकैया गाउँपालिकामा २०७६ सालमा १३४ परिवार बसाइँ सरेर आएका छन् भने १५२ परिवार बसाइँ सरेका छन्। २०७७ मा २९८ परिवार आएको र ३०४ परिवार गएको तथा २०७८ सालमा १३६ वटा परिवार बसाइँ सरेर आएको र २४१ वटा परिवार बसाइँ सरेर अन्तै गएका छन्। मकवानपुरकै पूर्व बागमती गाउँपालिकामा २०७६ मा २१ परिवार आएभने १३० परिवार बसाइँ सरेका छन्। २०७७ मा ३० परिवार बसाइँ सरेर आएका थिए भने २९२ परिवार बसाइँ सरेर गएको देखिन्छ र २०७८ सालमा ८८ परिवार आएका छन् भने १६१ परिवार बसाइँ सरेर गएका छन्।
त्यसो त ग्रामीण क्षेत्रमा बल्ल बल्ल सडक निर्माण हुने तर सम्भार नभएका कारण यातायात सहज पहुँच हुन नसक्दा पनि बसाइँसराइ बढेको हो। अहिले बस्ती पातलो हुँदै जाँदा बस्तीमा नै जंगली जनावर, चराचुरुङ्गीले समेत दुख दिने गरेपछि पनि बसाइँसराइ बढेको पाइन्छ।
विगतमा बाक्लो बस्ती भएको ठाउँमा अहिले घर खोज्दै हिँड्नु पर्ने अवस्था भएको छ। सुगम स्थानमा बसाइँ सर्दा सर्दै बाँकी रहेका घरहरू झण्डै झण्डै जङ्गलको बीचमा हुन पुगेको छ। ग्रामीण भेगबाट कतिपय सुविधा खोज्दै हेटौडा, काठमाडौँ, चितवन गएका छन् भने कति अन्य टाढाका जिल्लाहरूमा समेत गएका छन्।
धेरै जसो वैदेशिक रोजगारमा गएकाहरूले पनि आफ्नो परिवारलाई शहरमा सारेका छन्। छोराछोरीलाई पढाउने भन्दै कतिपय शहर पसेका छन्। गाउँ छाड्नुपर्ने बाध्यात्मक अवस्था नरहे पनि सुविधाको नाममा मानिसहरू बसाइँ सरिरहेका छन्।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा भन्नुहुन्छ ‘हामीले गाउँ गाउँमा सडक पुर्याएका छौं। खानेपानी, बिजुली, सिँचाइ गाउँलेहरूको जे जे माग छ, पुर्याएका छौं, कोशिश गरेका छौं।’ तर पनि थप अवसरको खोजीमा मान्छे अझ सुविधा केन्द्रित हुने भएकोले पनि बसाइँसराइ हुने गरेको उहाँको भनाई छ। आर्थिक सबल हुन थालेपछि थप सुविधा खोज्न पनि मान्छे अन्यत्र जाने गरेको उहाँको बुझाई छ। बसाइँसराइ गरे पनि जग्गा जमिन भने नबेच्ने गरेको उहाँले जानकारी दिनुभयो। गाउँमा बस्ने वातावरण बनाउन बाझो जग्गा नराख्नेहरूको लागि प्रोत्साहन कार्यक्रम पनि गाउँपालिकाले राखेको छ।
बसाइँसराइको विषयमा सहप्राध्यापक डा. यमबहादुर सिलवालले आर्थिक पक्षलाई पहिलो नम्बरमा अर्थ्याउनु भएको छ। ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा आर्थिक अवसर नै मुख्य कारण भएको उहाँको बिचार छ। सहज अनि सुविधाजन्य स्थानमा जान जो पनि तयार हुनुले पनि बसाइँसराइ बढेको उहाँको भनाई छ। उहाँ भन्नुहुन्छ” यातायातको अप्ठ्यारो, आर्थिक अवसर तथा रोजगारीको अभाव, शिक्षा र स्वास्थ्यको सहज पहुँच नहुनु पनि सुगम क्षेत्रमा आकर्षण बढेको हो। सुविधाजन्य जीवन ग्रामीण भेगमा छैन, पहिला पहिला सुविधाका लागि मानिसहरू पहाड र हिमालबाट तराई झरेका छन्, आर्थिक उन्नति गर्नकै लागि दुर्गमबाट सुगम रोज्न थालेका हुन्।”
यता राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको भनाई भने फरक छ। राक्सिराङ्ग र कैलाश गाउँपालिकाका धेरै मानिसहरूले छिमेकी मनहरी गाउँ पालिकामा ऐलानी जग्गा किनेर बसाइँसराइ गरेका छन्। ” अव्यवस्थित बसोबासका माध्यबाट ऐलानी जग्गा लिनकै लागि पनि मनहरी तिर बढीजसो बसाइँ सरेका छन्।” त्यसैगरी बिकट गाउँपालिकामा सेवा सुविधा नपुगेर जग्गा बाझो राखेर नोकरी तथा मजदुरी गर्न गएको उहाँले बताउनुभयो। सडकको पहुँच बिजुली बत्तिको विकास, रोजगार, शिक्षाको कमी भएकाले विस्थापित हुने अवस्था आएको उहाँको भनाई थियो।