काठमाडौं। नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना भएको छ ।
उर्जा मन्त्री पम्फा भुसालले मंगलवार उक्त चार्जिङ स्टेशनको उद्घाटन गर्नुभएको छ । सो क्रममा उहाँले पहिलो चरणमा देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेशन राखिने बताउनुभयो । अहिले जडान कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
चार्जिङ स्टेशनमा चार्ज गर्दा कारमा औसत ७० पैसा, एसयूभीमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्नेछ। नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार‚ कम्तीमा आधा घण्टादेखि एक घण्टासम्म चार्ज पूर्ण हुने प्राधिकरणले जनाएको छ।
विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशनका लागि सहुलियत दरको महसूल तोकिएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। यद्यपि, निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेशनले तोकिएभन्दा बढी महसूल लिएको र विद्युतीय गाडीले भाडा दर पेट्रोलियम पदार्थबाट चल्ने गाडीकै सरह लिने गरेको गुनासो आएकोले यसको प्राधिकरणले अनुगमन गर्ने घिसिङले जानकारी दिनुभयो । तोकिएभन्दा बढी चार्जिङ महसूल नलिन र सस्तो दरमा चार्ज हुने भएकोले भाडामा पनि सहुलियत दिन उहाँले आग्रह गर्नुभयो ।
प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला शहर पर्ने ५१ स्थानमा विद्युतीय सवारी साधन छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेशन निर्माण गरिरहेको छ। त्यसमध्ये २६ वटा चार्जिङ स्टेशन ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा चार्जिङ स्टेशन सानारठूला कारहरू चार्ज गर्न मिल्ने खालका छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयहरूका उपयुक्त स्थानमा चार्जिङ स्टेशन निर्माणका लागि प्राधिकरणले समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ। आन्तरिक रूपमा विद्युत्को खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोग मार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेशन महत्त्वपूर्ण कदम हुने प्राधिकरणले जनाएको छ।
हरेक चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ। चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०र६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिनेछन्। यसबाट ठूला बस सहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सक्नेछन्।