काठमाडौं । कुनै समय भारतको दार्जिलिङ पर्यटन र चियाको हबको रुपमा स्थापित थियो ।
यहाँका चियाको परख गर्न र चिया बगान हेर्न विभिन्न देशहरुबाट पर्यटकहरु दार्जिलिङ ओइरिन्थ्यो । तर अहिले पहाडकी रानी दार्जिलिङले यो साख गुमाउदै गएको छ । यहाँका अधिकांश चिया वगान सय वर्ष भन्दा पूराना छन् । नयाँ बगान बनाउने जाँगर अत्यन्त कममा मात्र देखिएको छ ।
यता नेपालको प्रमुख चिया उत्पादन हुने इलाम चिया पर्यटनमा निकै अगाडि बढेको छ । यहाँको कन्याम र फिक्कल लगायतका स्थानमा लगाइएका चिया वगानबाट भइरहेको चिया उत्पादन लोभलाग्दो छ । त्यससँगै इलाममा चिया पर्यटकको आगमन पनि बढेको छ । दार्जिलिङबाट समेत इलाममा घुमफिरका लागि पर्यटक आउने गरेका छन् । दार्जिलिङ चिया कमानका स्थानीय नमिता तामाङ भन्छिन्–दार्जिलिङका सबै चिया वगान सय वर्ष अघिका हुन् । त्यसैले यहाँ चिया उत्पादन खस्कदै गएको छ । बरु नेपालको इलाममा नयाँ नयाँ बगानहरु विकास गरिएका छन् । होटल र लजहरुको समेत राम्रो व्यवस्था भएकोले दार्जिलिङबाट समेत विदामा घुम्न इलाम पुग्नेहरु धेरै छन् ।
त्यसो त चिया पर्यटनमा मात्र होइन गुणस्तरीय चिया उत्पादनमा समेत नेपालले भारतलाई थ्रेट दिएको छ । त्यही थ्रेटका कारण भारतले नेपाली चियामा मात्रात्मक प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको उक्त तयारी नेपाल–भारतबीचको वाणिज्य सन्धि विपरित रहेको छ ।
नेपाली चिया आयातलाई सुरूमा मात्रात्मक प्रतिबन्ध लगाउने अनि विस्तारै पूर्ण बन्देज लगाउने गरी गरिएको प्रस्ताव अहिले भारतीय संसदका दुवै सदनमा पुगेको छ।
राज्यसभा र लोकसभामा पुगेको उक्त प्रस्ताव पारित भए नेपाली चियाले आफ्नो मुख्य अन्तर्राष्ट्रिय बजार गुमाउने निश्चित छ।
भारतीय संसदको राज्यसभा अन्तर्गतको ‘डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्स’ ले तयार पारेको प्रतिवेदनको १७१ नम्बर बुँदामा नेपाली चियालाई आयात प्रतिबन्ध लगाउने कुरा उल्लेख छ। समितिले दुई वटा कारण औंल्याउँदै चिया आयात कसिलो पार्नुपर्ने बताएको छ।
समितिले गुणस्तरहीन चिया मात्रै नेपालले भारत पठाइरहेको आरोप लगाएको छ । यस्तै एकदमै न्यून मूल्यको चिया मात्रै भारतीय बजार आइपुग्ने उसको दाबी छ । त्यसैले नेपाली चिया आयातमा मात्रात्मक प्रतिबन्ध लगाउनुपर्छ अथवा उच्च आकारमा ‘एन्टी डम्पिङ ड्युटी’ लगाउनुपर्छभन्ने समितिको माग छ ।
नेपाली चिया आयात नीतिमा ‘रिभ्यू’ र ‘रिभिजिट’ पनि गर्नुपर्ने समितिको प्रस्तावले नेपालका चिया उद्यमी तथा सरोकारवालाहरू त्रस्त बनेका छन् । किनभने नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बजार भारत नै हो । भारतवाहेकका तेस्रो देशमा त ज्यादै सानो हिस्सा मात्रै नेपाली चिया जाने इलामका चिया उद्योगी पुनम राईले बताउनुभयो । उहाँका अनुसार नेपाली चियाको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतमा जान्छ । अहिले भइरहेको तयारीले नेपाली चिया भारत जान नसक्ने अवस्था सिर्जना हुनेछ।
द्विपक्षीय वाणिज्य सन्धि अनुसार नेपालबाट भारत निर्यात हुने कृषिवस्तुमा कर नलिने उल्लेख छ। यतिमात्रै होइन, नेपालबाट आयात गरिने कृषि उत्पादनमा भारतले मात्रात्मक प्रतिबन्ध नलगाउने बुँदा पनि उल्लेख छ। यही विषयमा ‘रिभ्यू’ र ‘रिभिजिट’ गरिनुपर्ने राज्यसभा अन्तर्गतको ‘डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्स’ को ठहर छ।
हालसम्म कुनै पनि करको दायरामा नपरी भारत निर्यात भइरहेको नेपालको चियामा कर लगाउने अनि गुणस्तरका नाममा मात्रात्मक प्रतिबन्ध लगाइने भएपछि नेपाली चियाले अन्तर्राष्ट्रिय बजार गुमाउने खतरा बढेको भन्दै सरोकारवाला यतिबेला तीव्र दौडधुपमा जुटेका हुन्।
भारतीय पक्ष नेपाली चियाप्रति यसरी अनुदार हुनुमा दार्जिलिङको दबाबले काम गरेको छ। नेपाली चियाका कारण आफूहरू मारमा परेको भन्दै दार्जिलिङका चिया उत्पादकले नेपालको चिया आयात रोक्न माग गर्दै आएको लामो समय भइसकेको छ।
तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी दार्जिलिङ आएका बेला नै दार्जिलिङका चिया उद्यमीले नेपालको चिया आयात रोक्न माग पत्र पेश गरेका थिए। त्यसयता उनीहरू निरन्तर दबाब दिइरहेका छन्।
नेपाली चियालाई गुणस्तरहीन भन्दै रोक्न माग गर्ने दार्जिलिङका व्यवसायीहरूले नेपालकै चियालाई आफ्नो ट्रेडमार्क प्रयोग गरेर विश्व बजार पठाइरहेको आरोप नेपाली पक्षको छ। यसका बावजुद अहिले भारतमा जे तयारी भएको छ, त्यसले नेपाली चिया उद्योग संकटग्रस्त बन्ने जानकारहरू बताउँछन्।
चिया तथा कफी विकास बोर्डका निर्देशक एवम् प्रवक्ता डा दिपक खनालले प्रमुख अन्तर्राष्ट्रिय बजार राष्ट्रले संसदबाटै कानुन बनाएर आयात रोक्ने तयारी गर्नु चिन्ताको विषय भएको बताउनुभयो । त्यसैले त्यस विषयमा भारतीय पक्षसँग नेपाल सरकारले नै कुरा राख्नुपर्ने उहाँको भनाइ छ ।
भारतीय पक्षको यो तयारीबारे थाहा पाएर पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभामा यो विषय उठाउनुभएको थियो । मंगलबार इलाम र झापाका चिया उद्योगीहरूसहितको टोली लिएर खनाल र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीले तत्कालै भारतीय पक्षसँग कुरा गर्ने आश्वासन दिएको भेटमा सहभागी उद्योगी पुनम राईले जानकारी दिनुभयो ।
झापा र इलाम चिया उत्पादनका लागि कहलिएका क्षेत्र हुन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पछिल्लो तथ्यांक अनुसार नेपालका २८ जिल्लाका १६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा चिया उत्पादन भइरहेको छ।
बोर्डका अनुसार सन् २०२०–०२१ मा नेपालमा १ करोड ५६ लाख ४१ हजार केजी सिटिसी चिया उत्पादन भएको थियो। अर्थोडक्स चिया ७१ लाख ६८ हजार २ सय ५५ केजी उत्पादन हुँदा ग्रिन टी ७ लाख ७२ हजार ४ सय ५५ केजी उत्पादन भएको थियो। अन्य चिया १ लाख ५१ हजार ९१ केजी उत्पादन हुँदा कूल २ करोड ३७ लाख ४५ हजार ९ सय १ केजी चिया उत्पादन भएको थियो। यो सबै चियाको ९० प्रतिशतभन्दा ठूलो हिस्साको बजार भारत नै हो।
नेपालको १३ प्रतिशत व्यापार घाटा पूर्ति गर्ने र वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख कृषि उत्पादन चिया नै भएको एशोसिएसनको दाबी छ । त्यसैले एशोसिएसनले भारतीय पक्षसँग कुटनीतिक पहलमार्फत सहजीकरण गर्न सरकारसँग माग गरेको छ।