काठमाडौँ । काठमाडौंमा विभिन्न समयमा जमिन खन्दा मिथेन ग्यास फेला परेका छन् ।
मंगलवार काठमाडौँको जोरपाटीमा पानी निकाल्न खनेको बोरिङबाट मिथेन ग्यास निस्किएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का स्थानीय सन्तवीर लामाको घरमा पानी निकाल्न खनेको बोरिङबाट मिथेन ग्यास निस्किएको हो । लेदो माटोसहितको निस्किएको पानीको फोहोरा मिथेन ग्यास भएको पुष्टि भएको खानी तथा भूगर्भ विभागका ग्यास शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठले बताउनुभयो ।
जमिनमुनि सञ्चित भएको ग्यास बोरिङ गरेपछि निस्किएको उहाँले बताउनुभयो । यसरी ग्यास निस्किरहेको समयमा बन्द गर्न नमिल्ने श्रेष्ठले जानकारी दिनुभयो । ग्यास निस्किरहेको समयमा बन्द गर्ने प्रयास गर्दा अरु दुर्घटनाको जोखिम हुने पनि उहाँले बताउनुभयो । यस्तै ग्याँस निस्किरहेको समयमा आगो बाल्दा थप सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।
यसअघि पनि काठमाडौंको कपन र पेप्सी कोलामा पानी निकाल्न बोरिङ गर्दा मिथेन ग्यास निस्किएको थियो ।
के हो मिथेन ग्याँस ?
मिथेनलाई सर्ल एलिफाटिक हाइड्रोकार्बनका रूपमा चिनिन्छ । यो ग्यास तेलको शुद्धीकरण गर्दा प्राकृतिक ग्यास, कोइलाखानी तथा गोबर ग्यासमा समेत पाइन्छ । यो ग्यास धापिलो क्षेत्रमा पाइने भएकाले यसलाई मार्स ग्याँस पनि भनिन्छ ।
सबैभन्दा पहिले यो ग्याँस नोबेम्बर १७७६मा इट्लीका वैज्ञानिक ऐलेजन्ड्रो भोल्टाले इट्ली र स्वीजरल्याडमा म्यागिओर तालबाट पत्ता लगाएका थिए ।
मिथेन ग्याँसको उपयोगिता
मिथेनलाई घरेलु एलपी ग्यासका रूपमा प्रयोग गरिन्छ । विभिन्न यौगिकहरु जस्तैः क्लोरोफर्म, कार्बन टेट्राक्लोराइड, मिथाइल अल्कोहल, फर्माल्डिहाइड बनाउन पनि यही ग्याँस प्रयोग गरिन्छ ।
हाइड्रोजनको औद्योगिक उत्पादन गर्न समेत मिथेन ग्याँस नै प्रयोग गरिन्छ । मिथेनबाट प्राप्त हुने कार्बन ब्ल्याक रबर उद्योगमा प्रयोग हुन्छ । यस्तै छाप्ने मसी र रङ बनाउन पनि यसको प्रयोग गरिन्छ ।