काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि प्रधानमन्त्रीमा दाबी गरे आफ्नो समर्थन रहने बताउनुभएको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्नियाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले प्रधानमन्त्रीमा गगनले इच्छा देखाए आफूले समर्थन गर्ने बताउनुभएको हो ।
शर्माले बीपी कोइराला र शेरबहादुर देउवाकै उदाहरण दिएर ५० वर्षभन्दा कम उमेरको गगन थापा प्रधानमन्त्री हुन किन नहुने भन्दै प्रश्न पनि गर्नुभएको थियो ।
‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेर बीपी कोइराला प्रधानमन्त्री ५० वर्षभन्दा कम उमेरमै हुनुभयो। अर्का शेरबहादुर देउवा पनि ५० भन्दा कम उमेरमै प्रधानमन्त्री हुनुभयो, विश्वप्रकाश शर्मालाई पनि ५० वर्ष नपुग्दै प्रधानमन्त्री हुने इच्छा थियो। तर मिलेन, एटलिस्ट गगन थापा त ५० वर्ष मुनि नै छन्’ उहाँको भनाइ थियो ।
अहिलेको सन्दर्भमा गगन थापाको दाबी समय सान्दर्भिक भएको शर्माको भनाइ छ। गगन भन्दा आफू सिनियार भए पनि प्रधानमन्त्रीमा आफ्नो भन्दा गगनको दाबी तर्कसंगत रहेको शर्माले बताउनुभयो ।
शर्माले गगनले सांसद र मन्त्री भएर आफूलाई प्रमाणित गरिसकेको पनि बताउनुभयो । महामन्त्री शर्माले पार्टीको महाधिवेशनपछि ६ महिनाभित्रै सम्पन्न गर्नुपर्ने काम पनि गर्न नसकेको स्वीकार गर्नुभयो । पार्टी अहिले पनि पुरानो पाराले चलिरहेको बताउदै उहाँले परिवर्तन गर्न समय लाग्ने तर्क गर्नुभयो ।
महामन्त्री थापाले एक टेलिभिजन अन्तर्वार्तामा अब प्रधानमन्त्री बन्नका लागि प्रयास गर्ने बताएका थिए।