काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएका छन् ।
नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्थासहितको चिकित्सा ऐनका कारण ती कलेज बन्द भएका हुन् ।
१०० शय्याको अस्पताल बनाउन नसकेका कलेज बन्द भएका हुन् । उनीहरूले गत वर्ष विद्यार्थी भर्ना गर्न पाएनन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ती कलेज बन्द हुँदा तीन हजारभन्दा बढी विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएका छन् ।
सीटीईभीटीको मापदण्ड अनुसार ५० र १०० शय्याको अस्पतालसँग सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेका ती शैक्षिक संस्थाले ऐनमा भएको १०० शय्याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्थाले भर्ना लिन नपाएको स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका अध्यक्ष डा नेत्रराज चटौतले बताउनुभयो । गत वर्षको भर्ना रोकिएको र यो वर्षमा पनि रोकिने निश्चित रहेको उहाँको भनाइ छ ।
ऐनले नै दुई वर्षभित्र १०० शय्याको अस्पताल बनाउन भनेको थियो । सरकारले मापदण्ड पूरा नगरेका कलेजलाई भर्ना लिन रोक लगाएको हो ।
एक कलेजले ४० जना विद्यार्थी पढाउँछ । जसमा ४ जना पूर्ण छात्रवृत्ति र ३६ जना शुल्क तिरेर पढ्दै आएका थिए ।
पहिलो वर्षको भर्ना रोकिए पनि दोस्रो र तेस्रो वर्षको भने पढाई भइरहेको अध्यक्ष डा चटौतले बताउनुभयो । यसरी कलेज बन्द हुँदा हरेक वर्ष ३ हजार १२० जना विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएका छन् ।
डा गोविन्द केसी लगायतका अभियान्तहरुको दबाबपछि सरकारले चिकित्सा ऐनमा कडाइ गरेको थियो ।