काठमाडौं । पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेको टिमले ३ करोड भन्दा बढी रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ ।
कैलालीको जानकी गाउँपालिका ५ का आदित्य न्यौपाने लगायतले रियालिटी टिभी शोका नाममा रवि लामिछाने र उनको टिमले आर्थिक हिनामिन गरेको दाबी गरेका हुन् । न्यौपानेले असार २ गते फेसबुकमा एउटा स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् ।
के छ न्यौपानेको फेसबुक स्टाटसमा ?
आजभन्दा करिब २ वर्षअगाडि रवि लामिछाने न्युज २४ मा छँदै द लिडर कार्यक्रम गर्ने भनेर उदघोष गर्नु भयो। सोहीअनुसार मैले आफ्नो नाम रजिष्ट्रर गरें। तर १००० रुपैयाँ तिर्नु पर्न रैछ, त्यो नि गरें। तर आजसम्म पनि उक्त कार्यक्रम सञ्चालन आएको छैन साथै रवि लामिछानेले ग्यालेक्सी फोरके नि छाड्नु भएछ। ग्यालेक्सी फोरकेमा फोन गर्दा हामीलाई केही थाहा छैन भन्नु भयो। मेरो रजिष्ट्रेसन नम्बर ३०४७१ हो। अर्थात् ३०४७१×१०००. ३०४७१००० रकम हुन आउँछ। मभन्दा पछाडि नि सायद हजारौंले नाम दर्ता गराएको होलान्। अब हामी सबैको पैसाको जिम्मा कसले लिनेरु तर यहाँनिर एउटा चलाखी रवि लामिछानेले गर्नु हो पैसा बुझाएको प्रमाण कतै दिइएन मात्र रजिष्ट्रेशन नम्बर दिनुभयो। अब रवि लामिछाने नाम नै काफी थियो। त्यही भएर कुनै शंका लागेन तर अहिले न कार्यक्रम हुँदैछ न त पैसा फिर्ता।
स्टाटस लेखेपछि बिहीबार ग्यालेक्सी फोरकेबाट एक जनाले फोन गरेर पैसा पठाइदिन्छु भन्दै खाता नम्बर मागेको उनले बताए ।
न्यौपानेले भने अनुसार ३० हजार बढी मानिसले एक हजार रुपैयाँ तिरेर रजिष्ट्रेसन गरेका हुन् भने ३ करोड बढी पैसा आयोजकले उठाएको देखिन्छ। दोस्रो, कार्यक्रम नहुने भएपछि आयोजकले फटाफट पैसा फिर्ता गरिदिनु पर्नेमा अल्झाउन खोजेको देखिन्छ।
के हो ‘द लिडर’ कार्यक्रम ?
२०७६ मंसिर २६ गते रवि लामिछानेले ‘द लिडर’ कार्यक्रमको घोषणा गरेका थिए । प्रेस कन्फरेन्समा बोल्दै लामिछानेले एउटा परिपक्व लिडर जन्माउने उदेश्यले ‘द लिडर’ कार्यक्रमको आयोजना गरिन लागेको बताएका थिए ।
सात प्रदेशका विभिन्न स्थान र विदेशमा अडिसन गरी १ सय प्रतिष्पर्धीलाई काठमाडौं ल्याएर फाइनलमा प्रवेश गराइने लामिछानेले बताएका थिए।
द लिडरका विजेतालाई काठमाडौं अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँ नगद पुरस्कार दिइने भनिएको थियो। द लिडरमा बाबुराम भट्टराई, सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरि र प्रदीप नेपाल निर्णायक थिए।
सुरूमा ‘द लिडर’ न्युज २४ टेलिभिजन, रमाइलो टिभी एचडी र गुन्द्रुक एपबाट प्रसारण हुने भनिएको थियो। कार्यक्रमको उत्पादक एसआरबिएन मिडियाका सिइओ विपिनकुमार आचार्य हुन् । उनी लामिछानेको टिममै थिए। आचार्य अहिले ग्यालेक्सी फोरकेमै क्रियटिभ डाइरेक्टर छन्।
द लिडरमा सहभागी हुन चाहनेको दर्ता शुल्कबारे लामिछानेले अनभिज्ञता प्रकट गरे । आफू कार्यक्रमको सञ्चालक मात्र भएकाले आफूसँग कति जनाले रजिष्ट्रेशन गरे र तीमध्ये कतिको पैसा फिर्ता भयो र कतिको अझै बाँकी छ भन्ने ठ्याक्कै तथ्यांक नभएको उनले एक अनलाइनलाई बताएका छन् ।
उाले आयोजकले पैसा फिर्ता नदिए आफूले नैतिक जिम्मेवारी लिने पनि बताएका छन् । अर्थात आयोजकले फिर्ता नगरे आफूले नै सबैको पैसा फिर्ता गरिदिने लामिछानेको भनाइ छ।
एसआरबिएन मिडियाका सिइओ आचार्यले भने ११ सय जना भन्दा बढीले रजिष्ट्रेसन गरेको र तीमध्ये ७० प्रतिशतले पैसा फिर्ता लिइसकेको बताए।
सहभागीको रजिष्ट्रेसन नम्बर धेरै देखिए पनि वास्तविक आवेदन संख्या भने न्यून रहेको उनको भनाइ छ । रजिष्ट्रेसन नम्बर १ बाट सुरू भएर क्रमैसँग गएको नभई इच्छुकले विवरणहरू भरेपछि एपबाट जेनेरेट भएको उनको तर्क छ । एपबाट पाँच अंकको नम्बर जेनेरेट भएकाले अंक ठूलो र फरक फरक भएको उनको दाबी छ ।