काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको निर्णय बमोजिम तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिएको छ ।
बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
एकीकृत समाजवादी पार्टीले हाल सरकारमा रहेका मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो । त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो । तर प्रधानमन्त्री देउवाले भने संसदमा बजेटमाथिको छलफल जारी रहेको भन्दै त्यसबेला मन्त्रिपरिषद पुनर्गठन गर्न अस्वीकार गरेको थियो ।
स्रोतका अनुसार अहिलेका मन्त्रीहरुको प्रस्तुति पार्टीले अपेक्षा गरे अनुरुप नरहेको निष्कर्ष निकालेको छ । पर्यटनमन्त्री आले, शहरी विकास मन्त्री झाँक्री,स्वास्थ्यमन्त्री खतिवडा र श्रममन्त्री श्रेष्ठ कसैले जनताकाबीच पार्टीको छवि सकरात्मक हुने गरि काम गर्न नसकेको पार्टीको निष्कर्ष रहेको ती नेताले बताए । पर्यटनमन्त्री प्रेम आलेले केही सकरात्मक काम गर्न खोजे जस्तो देखिए पनि उनको कार्यशैलीबाट पार्टी नेतृत्व रुष्ट र सशंकित रहेको ती नेताले बताए । उनले भने प्रेम आलेलाई मन्त्री बनाउनु पार्टीको पहिलो गल्ती थियो भने अब उनलाई हटाउन ढिलाइ गर्नु दोस्रो गल्ती हुन्छ ।
यस्तै सेलिब्रेटी नेताका रुपमा रहेका रामकुमारी झाँक्रीमा मन्त्री बन्ने योग्यता नै नभएको समेत उनले बताए । उनी थप्छन्–युवाहरु माझ लोकप्रिय र मिडियामा सेलिब्रेटी नेताका रुपमा छाएकी झाँक्रीलाई त्यसैको आधारमा मन्त्री बनाइयो । तर उनले सिन्को पनि भाँच्न सकिनन् ।