काठमाडौं । भन्सार विभागका अनुसार, चालू आर्थिक वर्षको ११ महिनामा नेपालले वैदेशिक व्यापारमा १५ खर्ब ७७ अर्ब रुपैयाँ घाटा बेहोरेको छ।
यो गत वर्षको यही अवधिका तुलनामा एक चौथाइले बढी हो। उच्च आयात तर न्यून निर्यातका कारण नेपालको वैदेशिक व्यापारको घाटा बढ्दै गएको छ। जेठसम्म नेपालले १७ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ। यो अवधिमा एक खर्ब ८६ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ।
आयात नियन्त्रण गर्ने सरकारी प्रयास अपेक्षित रूपमा प्रभावकारी नभएको तथ्याङ्कले देखाएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत जेठमा फेरि आयात उकालो चढेको छ। जेठमा एक खर्ब ५८ अर्ब ५७ करोड रुपैयाँको वस्तु आयात भएको छ। वैशाखमा आयात एक खर्ब ३८ अर्ब रुपैयाँमा ओर्लिएको थियो।
उच्च आयातका कारण अर्थतन्त्रको बाह्य क्षेत्रको स्थिरता खलबलिन थालेपछि सरकारले पछिल्ला महिनाहरूमा आयात कटौतीका लागि विभिन्न उपाय अघि सारेको छ। सरकारले सवारी साधन सहित विभिन्न विलासी १० वस्तुको आयात रोकेको छ।
चालू आर्थिक वर्षमा मंसीरमा सर्वाधिक एक खर्ब ८८ अर्ब रुपैयाँको आयात भएको थियो। चैतमा करीब एक खर्ब ५८ अर्ब रुपैयाँको आयात भएकोमा आयात कटौती गर्ने सरकारको घोषणापछि वैशाखमा त्यो एक खर्ब ३८ अर्ब रुपैयाँमा ओर्लिएको थियो। तर, जेठमा फेरि आयात बढ्नुले विदेशी मुद्राको सञ्चितिलाई थप दबाबमा पार्ने देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार, वैशाखसम्म नेपालसँग नौ अर्ब २८ करोड अमेरिकी डलर मात्रै सञ्चिति छ। आयात बढेका कारण जेठमा विदेशी मुद्राको सञ्चिति थप घट्न सक्ने जोखिम छ।
जेठसम्म नेपालले विदेशबाट तीन खर्ब ५५ अर्ब ८७ करोड रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु आयात गरेको देखिएको छ। यो अवधिमा एक खर्ब १९ अर्ब बराबरको कृषिजन्य वस्तुको निर्यात पनि भएको छ। यद्यपि, कृषिजन्य वस्तुको व्यापार घाटा पनि दुई खर्ब ३७ अर्ब रुपैयाँभन्दा धेरै छ।
जेठसम्म नेपालले ७० अर्बको अन्न, ३४ अर्ब १५ करोडको तरकारी, २२ अर्ब ७७ करोड रुपैयाँको फलफूल आयात गरेको छ।