काठमाडौं । अहिले वर्षाको मौसम शुरु भएको छ । कतिखेर पानी पर्छ भन्ने ठेगान हुँदैन । पानी पर्छ भनेर बाहिर निस्किन्न भन्ने पनि हुँदैन ।
वर्षाको पानीमा रुझ्दा विभिन्न किसिमका मौसमी स्वास्थ्य समस्याहरु देखिनसक्ने भाइरोलोजिस्टहरु बताउछन् । कोरोना र पानीमा रुझ्दा देखिने स्वास्थ्य समस्याका लक्षण उस्तै उस्तै देखिन्छ । त्यसैले कतै कोरोना पो लाग्यो कि भन्ने चिन्ता पनि बढ्छ । रुघा,खोकी र ज्वरो कोरोना र पानीमा रुझ्दा देखिने सामान्य लक्षणहरु हुन् । यो मौसममा क्षणमै पानी र क्षणमै चर्को घाम लाग्ने हुन्छ । यसले स्वास्थ्यमा झन समस्या देखापर्ने सम्भावना रहन्छ । त्यसैले यो मौसममा बिरामी हुनबाट जोगिन थप सावधानी अपनाउनुपर्छ । पानीमा रुझ्नबाट बच्नु सबैभन्दा उत्तम उपाय हो ।
पानीमा रुझ्नबाट कसरी बच्ने ?
सबैभन्दा सजिलो उपाय त पानी पर्दा घरबाट बाहिर ननिस्कने हो । पानी रोकिएपछि मात्र बाहिर निस्कनुपर्छ ।
घरबाट बाहिर निस्कदा छाता वा रेनकोट अवश्य बोकेर निस्कनुहोला । यदि बाटोमा अचानक पानी पर्न थाल्यो भने छाता र रेनकोट ओड्नुपर्छ ।
यदि वर्षाको पानीले भिजे राम्रोसँग रुमालले पुछ्नुपर्छ र तुरुन्त न्यानो कपडा फेर्नुपर्छ ।
यो समयमा बेसार हालेको दूध वा अदुवा हालेको चिया पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसबाट शरीर भित्र तातोपन प्राप्त हुन्छ । यसले गर्दा ज्वरो आउने वा रुघाखोकी लाग्ने सम्भावना न्यून हुन्छ । वर्षाको पानीले भिजेपछि खुट्टा राम्रोसँग पखालेर सुख्खा बनाउनुपर्छ । यसो गर्दा शरीरमा छिट्टै ताप प्राप्त हुन्छ । यस्तै गरि इन्फेक्सन हुने र सुन्निने समस्याबाट समेट छुटकारा पाइन्छ ।
एन्टीब्याक्टेरियाको क्रिम पनि लगाउन सकिन्छ । यस्तो क्रिमले शरीरमा रहेको घातक ब्याक्टेरियाहरु मर्छन् । यसले गर्दा छालाको एलर्जी र इन्फेक्सनबाट बच्न सकिन्छ । यस्तो क्रिमले दाग र चिलाउने समस्या पनि देखिदैन ।
वर्षाको समयमा खानपानमा ध्यान दिनुपर्ने कुराहरु
-वर्षाको समयमा हरिया पातयुक्त साग सब्जी खानुहुँदैन । किनभने यो समय विभिन्न किरा र किटाणुहरुले अण्डा पार्ने समय हो । हरिया साग सब्जीको सट्टामा लौका, करेला,पर्वल,फर्सी, भेन्टा खानु उत्तम हुन्छ ।
-वर्षाको समयमा मसलेदार र बढी तेलयुक्त खानेकुराबाट टाढै रहनुपर्छ । किनभने यस्ता खानेकुराले पाचन प्रणालीलाई घटबढ बनाइदिने खतरा हुन्छ ।
-अमिलो र एसिडयुक्त खानेकुराबाट पनि यो मौसममा टाढै बस्नुपर्छ ।
-वर्षाको समयमा वाफमा उसिनेको र राम्रोसँग पकाएको खानेकुरा मात्र खानुपर्छ ।
-गाईको शुद्ध दूध सजिलैसँग पच्ने हुनाले यो समयमा सेवन गर्नु फाइदाजनक हुन्छ ।
-वर्षाको समयमा साँझको खान हलु र सुत्नुभन्दा कम्तीमा २ घण्टा अगाडि खानुपर्छ ।
-मुँगको दाल सजिले पचाउन सकिने भएकोले वर्षामा स्वास्थ्यका लागि उत्तम हुन्छ ।
-माछा,मासु कम सेवन गर्नु स्वास्थ्यको दृष्टिले लाभकारी हुन्छ ।
-वर्षाको समयमा दही खानेले साँझ छिप्पिनु अघि खानुपर्छ ।
-शुद्ध घ्यूले खानेकुरा पचाउन, प्रतिरोधी क्षमता बढाउन मद्दत गर्नुको साथै तनाव हटाउने र स्मरण शक्ति बढाउछ । त्यसैले वर्षाको मौसममा गाईको शुद्ध घ्यूको सेवन गर्नु राम्रो हुन्छ ।