काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी खेलाडी खुशी डङ्गोल अहिले खुट्टामा लागेको चोटका कारण आराममा छिन् ।
स्नातक पहिलो वर्षमा अध्ययरत १९ वर्षीय डङ्गोल क्रिकेटमा उत्कृष्ट बलरका रूपमा स्थापित छिन् । कक्षा ९ मा हुँदादेखि खेलमा लागेकी उनले प्रधानमन्त्रीकप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताबाट डेब्यू गरेकी थिइन् । डेब्यू खेलमै उत्कृष्ट बलरको उपाधि हात पार्न सफल भएकी खुशीले त्यसपछि कहिले पनि पछाडि फर्केर हेर्नुपरेन । त्यसलगत्तै सिनियर टिमका लागि सेलेक्सन भएकी उनले चीनमा भएको महिला क्रिकेट प्रतियोगितामा पनि उत्कृष्ट खेल प्रस्तुत गरेको थियो ।
तर क्रिकेट प्रशिक्षण लिने समयमा खुट्टामा समस्या आएको हुनाले अहिले उनी प्रशिक्षकको सुझावमा आराम गरिरहेकी छिन् । यही समयलाई सदुपयोग गर्दै उनी सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछिन्–मिस नेवाः मा । तर खेल नै आफ्नो पहिलो प्राथमिकतामा रहने उनी बताउछिन् ।
मलाई ‘खुसी’ भनेर चिनाउने नै क्रिकेट खेल हो । मिस नेवा मोडलिङ क्षेत्रभन्दा पनि आफ्नो परम्परा सिक्ने र प्रतिभा प्रस्फुटन गर्ने मञ्च भएकोले सहभागी हुन लागेकी हूँ, उनले एक अन्तवार्तामा बताएकी छिन् ।
आफूलाई सौन्दर्य प्रतियोगितातर्फ कहिले पनि इच्छा नै नलागेको बताउने खुशीले बुवाको कारणले मिस नेवाःमा जान लागेको पनि प्रष्ट पारिन् । जीवनमा केही नयाँ पनि गर्नपर्छ भनेर यहाँ आएको उनले बताइन् । त्यसमा अहिलेको महानगरपालिकाको उपमेयर सुनिता डङ्गोलबाट प्रेरित भएको पनि उनले सुनाइन् । उहाँले हाम्रो संस्कृति, लिपि, नेपाल भाषालाई कति धेरै प्रचारप्रचार गरिरहनुभएको छ । उहाँ नै मेरो लागि प्रेरणाको स्रोत हो । उहाँको बोल्ने शैली, काम गर्ने तरिका मनपर्छ ।
मिस नेवाः नेवारी सौन्दर्य प्रतियोगिता मात्र नभएर यसमा आफ्नो परम्परा संस्कृतिलाई बढी महत्व दिने भएको कारण पनि मन भएको उनले बताइन् । नेवारी संस्कृति र परम्परा भनेपछि मरिहत्ते गर्ने मान्छे भएकोले यसमा आफूले पनि केही हातेमालो गर्न सक्छु कि भन्ने लागेको पनि खुशीले सुनाइन् । उनी काठमाडौंको पुरानो नेवारी बस्ती टोखाको बासिन्दा हुन् । यस प्रतियोगिता मार्फत टोखाको सौन्दर्य र ऐतिहासिक महत्वलाई पनि बाहिर ल्याउन सक्छु भन्ने उनको विश्वास छ ।