काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको एक सुन पसलमा लुटपाट भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित अनामनगरमा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ घर भई ललितपुरमा बस्दै आएका अविराज दूतराजले सञ्चालन गरेको सुन पसलमा लुटपाट भएको हो । दूतराजले अनामनगरमा श्री मनकामना सुनचाँदी तथा गरगहना पसल चलाउदै आउनुभएको छ ।
उहाँको मनकामना सुनचाँदी पसलसँगै जोडिएको पान पसलतर्फबाट भित्ता फोडेर सुनचाँदी पसलमा लुटपाटको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। मान्छे छिर्न मिल्ने गरी भित्तामा प्वाल बनाइएको प्रहरीको भनाइ छ ।
‘एक जना मान्छे छिर्न मिल्ने गरी भित्तामा प्वाल बनाइरहेको रहेछ,’ एक प्रहरीले भने, ‘तर भित्र पसेर सुनचाँदी भने लुट्न भ्याएको रहेनछ।’
घटनाबारे अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक पान पसल सञ्चालक भारतको बिहार मोतिहारी जिल्लाका २३ वर्षीय सन्दिप जैसवाल हुन्। उनीमाथि प्रहरीले सोधपुछ गरिरहेको छ।
यो घटनाको मुख्य योजनाकार भने जैसवाल नभएको प्रहरी बताउँछ। पान पसलमै काम गर्ने कामदार यो घटनाको योजनाकार रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ।
भारतको रक्सौल घर भएका २१ वर्षीय राहुल सर्राफ फरार छन्। उनी दुई महिनादेखि पान पसलमा काम गर्दै आएका थिए।
सर्राफलाई पान पसलका सञ्चालक जैसवालले सामान किन्नको लागि ६० हजार रुपैयाँ दिएका थिए। उनले जैसवालको बा ६६ प ७२८६ नम्बरको बाइक पनि चलाउने गर्दथे। राहुल पैसा लिएर फरार छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अनामनगर चुनचाँदी पसलको यो घटनामा एक जनाको साथबाट मोटरसाइकल बरामद गरिएको बताउनुभयो ।