काठमाडौं । बेलायतमा लासा भाइरस देखापरेपछि नेपालमा समेत त्रास बढेको छ ।
यो भाइरस विशेषतः सङ्क्रमित मुसाको दिसा पिसाबको सम्पर्कबाट मानिसमा सर्ने विज्ञहरु बताउछन् । यो भाइरसको संक्रमणबाट मानिसको श्रवणशक्ति समेत गुम्नसक्ने भएकोले खतरनाक मानिएको छ । केही वैज्ञानिकहरुले त विश्वमा अर्को महामारी लासा भाइरसको फैलिनसक्ने चेतावनी समेत दिएका छन् ।
बेलायतमा पश्चिम अफ्रिकाबाट फर्केका एकै परिवारका तीन जनामा लासा भाइरस पुष्टि भएको हो । ती मध्ये एकको मृत्यु भैसकेको युके हेल्थ सेक्युरिटी एजेन्सीले जनाएको छ ।
लासा भाइरस पश्चिम अफ्रिकी देशहरू जस्तै नाइजेरिया, घाना, सियारा(लियोन, लाइबेरिया जस्ता देशहरूमा बर्सेनि जस्तो देखिने गरेको छ । नेपालमा भएका मुसामा लासा भाइरस छ÷छैन अहिलेसम्म जानकारी नभए पनि पश्चिम अफ्रिका पुगेर आएकामा सङ्क्रमण हुनसक्ने आशंका गरिएको छ । त्यसैले यसप्रति सरकारले बेलैमा शर्तकता अपनाउनुपर्ने वरिष्ठ जनस्वास्थ्यविद डा शेरबहादुर पुन बताउनुहुन्छ ।
उहाँका अनुसार इन्टरनेशनल जर्नल अफ इन्फेकसियोस डिजिज जर्नलमा प्रकाशित लेख अनुसार सन् २०१९ मा ूलासा भाइरसू नाइजेरियामा फैलँदा अस्पतालका स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका थिए जसमा ५० प्रतिशत चिकित्सक र ३८ प्रतिशत नर्सहरू थिए । मृत्युदर झन्डै १३ प्रतिशत थियो । तर समग्रमा मृत्युदर १ प्रतिशत हुने भएता पनि अस्पताल भर्ना भएका मध्ये १५ प्रतिशतसम्मको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँदछ । गर्भ रहेको तेस्रो त्रैमासिकमा सङ्क्रमण भए गर्भवती महिलाको पनि मृत्यु हुने सम्भावना उच्च हुने गर्दछ ।
८० प्रतिशत ूलासा भाइरसू सङ्क्रमितमा लक्षण भने देखिने गर्दैन । सुरुवातीमा ज्वरो, जिउ दुख्ने, कमजोर हुने भएपनि पछि टाउको, घाटी र छाती दुख्ने, पेट दुख्ने र बान्ता हुने गर्दछ । नाक, मुख, गिजा, योनीबाट रगत आउने जस्ता रक्तश्रावका लक्षणहरू समेत देखा पर्ने गर्दछ । यस्ता लक्षणहरू जटिलतातिर गए २ हप्ता भित्र सङ्क्रमितको मृत्यु हुन सक्ने विज्ञहरु बताउछन् । सङ्क्रमण भएको एक देखि तीन हप्तासम्ममा लक्षणहरू देखिने गर्दछ । सङ्क्रमित स्वस्थ भएपछि पनि झन्डै २५ प्रतिशतमा बहिरोपन देखिने गर्दछ । यसमध्ये आधा जतिमा एक देखि तीन महिनासम्ममा धेरै हदसम्म श्रवण शक्ति फर्कने गर्दछ । तर कतिपयमा भने बहिरोपन सधैँको लागि हुने खतरा रहने विज्ञहरुको भनाइ छ ।