काठमाडौं । शनिवार ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ ।
वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन जाउलाखेलमा भोटो देखाउने चलन छ ।
मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएपछि शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरवहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्रीहरु, संवैधानिक निकायमा प्रमुख जावलाखेल पुग्नुभएको थियो ।
गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए । मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो ।
त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति भण्डारी र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गर्नुभएको छ ।
भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ ।
बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन शुरु भएको जनविश्वास छ । वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ ।