काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको सामू निकै बलियो मानिएका नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापित निरन्तर पछि परेका छन् । तर एमालेकै उपमेयर सुनिता डंगोलले भने निरन्तर भारी मतका साथ अग्रता लिइरहेकी छिन् । योसँगै पूर्व मिस नेवा सुनिताको अहिले चर्चा चुलिएको छ ।
काठमाडौंको जस्तै परिदृश्य छ विराटनगर महानगरपालिकामा पनि । नेकपा एमालेका मेयर उम्मेदवार सागर थापा मतगणनाका क्रममा निरन्तर पछि छन् । कांग्रेस उम्मेदवार नागेश कोइरालाले मत गणनाको शुरुवाती चरणबाटै एकोहोरो अग्रता लिइरहेका छन् । तर उपपेयरमा भने एमालेकी उम्मेदवार शिल्पा निराला कार्की निरन्तर अगाडि छिन्।
एमालेले महानगरको उपमेयरको उम्मेदवार बनाउँदै गर्दा काठमाडौंकी सुनितालाई जस्तै शिल्पालाई पनि राजनीतिमा ‘नयाँ’ भएको आलोचना पार्टीभित्रैबाट भएको थियो । एमालेकै नेताहरूले उनको उम्मेदवारीप्रति असन्तोष प्रकट गरिरहेका थिए। तर पार्टीले निर्णय गरेपछि उनीहरू असहमतिकै बीच त्यो निर्णय स्वीकार्न बाध्य थिए। अहिले मतगणनामा शिल्पाले आफूलाई योग्य सावित मात्र गरिदिएकी छैनन्, उमेर र सदस्यता लिएको वर्षको आधारमा मापन गरिने राजनीतिक योग्यतालाई गलत सावित गरिदिएकी छिन् ।
सुनिता र शिल्पाबीच अर्को समानता छ, त्यो हो दुवैजना ग्ल्यामर क्षेत्रसँग सम्बन्धित छन् । पार्टी महानगरको उपाध्यक्ष रहेकी शिल्पा फेसन डिजाइनर हुन् । अंग्रेजी साहित्यमा स्नात्तकोत्तर गरेकी शिल्पा विराटनगरमै बुटिक चलाउँछिन्। सामाजिक काममा सक्रिय उनी एमाले विभाजनपछि महानगरको उपाध्यक्ष बनेकी थिइन्। उनीभन्दा धेरै ‘सिनियर’ महिला नेताहरूलाई पछि पार्दै महानगर उपमेयरमा टिकट पाएपछि उनको चर्चा एकाएक चुलिएको थियो। उनी आफूले अहिले पाइरहेको मत अपेक्षाकृत र स्वभाविक मान्छिन् । उनी भन्छिन् ‘मैले अहिले पाइरहेको मत मेरा लागि एकदमै अपेक्षाकृत थियो । किनभने, मेरा विपक्षीहरूले पार्टी–पार्टीबीच गठबनधन गर्नुभएको थियो। मैले जनतासँग गठबन्धन गरेकी थिएँ।’
अहिले पाइरहेको चुनावी अग्रतालाई उनी एमाले पार्टीको सफलता र गठबन्धनले महिलामाथि गरेको ‘अन्डरस्टिमेट’ मुख्य कारण मान्छिन्।
मतगणनामा निरन्तर अग्रता हासिल गरिरहेकी कार्की आफ्नो जितमा निश्चिन्ता छिन् , ढुक्क छिन् ।