काठमाडौं । सरकारले हेलिकोप्टर किनिदिनुपने माग राख्दै दीपक सिलवाल नामक एक युवकले काठमाडौंमा आमरण अनसन शुरु गरेका छन् ।
बिहीबारदेखि काठमाडौँको मध्य बानेश्वरमा रहेको चिनारी बोइज होस्टेलमा उनले आमरण अनसन थालेका हुन् ।
सिलवालले स्थानीय तहको चुनावमा काठमाडौँ महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् । अरु उम्मेदवारहरु भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेको बेला सिलवालले भने हेलिकोप्टर किनिदिनुपर्ने एकसुत्रीय माग राखी आमरण अनसन थालेका हुन् ।
उनले होस्टल सञ्चालकबाट माला र उनको संस्था ‘घर आँगन नेपाल’का कोषाध्यक्ष प्रवीण ढकालको हातबाट टिका र खादा लगाएर आमरण अनसन सुरु गरेका हुन् । उनी मासिक ११ हजार शुल्क तिरेर ३ महिना अघिदेखि उक्त होस्टलमा बस्दै आएका छन् । उनले आफूलाई बेरोजगार भन्ने गरेका छन् ।
तेह्रथुमका ४० वर्षका सिलवालले विकट क्षेत्रका गर्भवती महिलाको उद्धारका लागि सरकारले छुट्टै हेलिकोप्टर किन्नुपर्ने माग राखेका हुन् ।
उनले २०७० सालदेखि ‘किनौँ हेली, बचाऔँ चेली’ भन्ने अभियान समेत चलाउँदै आएका छन् ।
उपचार नपाएका गाउँघरमा गएर निःशुल्क रूपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उनले ५ वर्षअघि सिन्धुपाल्चोकको भोटसिपा भन्ने ठाउँबाट गर्भवती सन्तमाया तामाङको ज्यान जोखिममा रहेको थाहा पाएर निजी हेलिकोप्टर खोजेर उद्धार गरेका थिए । त्यसयता उनले विभिन्न व्यक्तिसँग सहयोग जुटाउँदै सुत्केरी हुने बेला जटिल अवस्थामा पुगेका १२ जना महिलाको हेलिकोप्टरबाट उद्धार गरिसकेका छन् । यस्तै उनले नेपाल सरकारसँगको सहकार्यमा ७० गर्भवती महिलाको उद्धार गरेका छन् ।
उनले भने–‘प्रसव पीडामा रहेका महिलाको जीवन जोखिममा हुन्छ । नेपालका दुर्गम भेगमा रहेका उनीहरूलाई तत्काल अस्पताल पुर्याउने माध्यम भनेकै हेलिकोप्टरबाट उद्धार हो । मैले ३ जना सुत्केरीको उद्धार गरिसकेपछि नेपाल सरकारका सहसचिवको मलाई फोन आएको थियो । उहाँले यो कत्तिको सम्भव छ भनेर मलाई सोध्नुभएको थियो । मेरो कुरा सुनेपछि सरकारले राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम ल्याइएको थियो । तर सरकारसँग आफ्नै हेलिकोप्टर नभएका कारण सेनाको वा निजी हेलिकोप्टरको सहयोग माग्नुपर्ने अवस्था छ । उता सुत्केरीको ज्यान जान लागिसकेको हुन्छ यता हेलिकोप्टरको व्यवस्थापन समयमा हुन सकेको हुँदैन । त्यसैले सरकारले आफैले हेलिकोप्टर खरिद गर्नुपर्छ भनेर मैले माग उठाउँदै आएको हुँ ।’
उनले २ वर्षअघि समयमै हेलिकोप्टर नपुग्दा एक सुत्केरी महिलाको नारी दिवसकै दिन अकालमा मृत्यु भएको स्मरण गराए । उनले गर्भवती महिलाहरुको उद्धारका क्रममा निजी हेलिकोप्टर कम्पनीहरुलाई अझै ८ लाख ऋण तिर्न बाँकी रहेको बताए ।