काठमाडौँ । भरतपुर महानगरपालिकाको बागी उम्मेदवार फिर्ता गराउने सत्ता गठबन्धनको प्रयास असफल भएको छ ।
बागी उम्मेदवारी दिनुभएका काँग्रेस नेता जगन्नाथ पौडेलले अडान नछोडेपछि भरतपुरको राजनीतिले अहिले राष्ट्रिय चर्चा पाएको छ ।
उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्म प्रयास गर्दा पनि गठबन्धनले कांग्रेसको तर्फबाट बागी उम्मेदवार दिनुभएका जगन्नाथ पौडेललाई पछि हटाउन सकेन। पौडेललाई फकाउन काँग्रेसले गृहमन्त्री बालकृष्ण खाँणसम्मलाई परिचालन गरेको थियो ।
उम्मेदवारी फिर्ता नलिएका पौडेललगायत कांग्रेसका सबै बागी उम्मेदवार पार्टीबाट स्वतः निष्कासित भएका छन्।
गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताले दबाब, प्रभाव र प्रलोभन देखाउँदासमेत पौडेल आफ्नो निर्णयमा अडिग रहनुभएको हो । स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले त उम्मेदवारी फिर्ता लिएर राष्ट्रियसभा सदस्य बन्नसमेत फकाउनुभएको थियो ।
भरतपुर महानगरको प्रमुखको सिट माओवादी केन्द्रलाई दिएदेखि नै असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले पार्टी सभापति देउवालाई भेटेर उक्त निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका थिए।
चितवन जिल्ला सभापतिसहित पुगेको टोलीलाई चुनावी तालमेलबारे पुनर्विचार गर्ने आश्वासन दिएको थियो । तर देउवाले उनीहरूको आग्रहलाई वेवास्ता गर्दै केन्द्रबाटै चुनावी तालमेलको निर्णय गरेपछि भरतपुरका स्थानीय जनता, नेता र कार्यकर्ता रुष्ट बनेका हुन् ।
परिणास्वरुप गठबन्धनको चुनावी तालमेलको निर्णयसँगै सन्तुष्ट बन्न नसकेका कार्यकर्ताको समर्थनमा पौडेलले बागी उम्मेदवारी दिनुभएको हो । बागी उम्मेदवारी दिनुभएका पौडेल आफू जित्नेमा विश्वस्त हुनुहुन्छ ।
भरतपुरमा वडा तहमा कांग्रेसको राम्रो पकड छ । बागी उम्मेदवार फिर्ता नलिने अडान लिनुभएका पौडेलको राजनीतिप्रतिको प्रतिबद्धताको कांग्रेस नेता कार्यकर्ताले प्रशंसा पनि गरेका छन्। भरतपुर महानगरका २९ वटा वडामध्ये २० वटा वडा कांग्रेसले लिएको छ।
गठबन्धनले गरेको प्रलोभनदेखि पार्टीले गर्ने कारबाहीको समेत परबाह नगरी बागी उम्मेदवारीबाट पछि नहट्ने उहाँको अडानलाई वास्तविक कांग्रेस कार्यकर्ताहरुले सह्राना गरेका छन् ।
पौडेल राष्ट्रियसभाका पूर्वसांसद र तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुखसमेत हुनुहुन्थ्यो । स्थानीय स्तरमा पनि उहाँको लोकप्रियता रहेको छ । भरतपुरको मेयरमा पौडेलको उम्मेदवारी यथावत रहेपछि सत्तागठबन्धनको नेपाली काँग्रेस नैतिक दबाबमा परेको छ । किनभने महानगरको बाँडफाँटमा भरतपुर माओवादी केन्द्रको भागमा परेको छ । जसअनुसार माओवादीले अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहाललाई दोहोर्याएको छ । पौडेलको बागी उम्मेदवारीले रेणुको भोट काटिएर एमालेलाई फाइदा हुन सक्ने भरतपुरका स्थानीयबासी बताउँछन्।
यस्तो नतिजा आउन सक्ने त्रासले गठबन्धनले पौडेललाई उम्मेदवारी फिर्ता लिन भनेको थियो। पौडेलले भने आफू सामान्य नागरिकको हैसियतले उम्मेदवारी दिएको भन्दै आफूसँग नतर्सिन आग्रह गर्नुभएको छ ।
गठबन्धनको चुनावी तालमेलमा माओवादी केन्द्रको भागमा परेको एउटा मात्रै महानगर प्रमुखमा विवाद भएपछि गठबन्धनमा थप किचलो हुने विश्लेषण सुरु हुन थालेको छ।
स्थानीय तहको चुनावी तालमेलमा किचलो आए यसले प्रदेश र संघको चुनावलाई पनि प्रभाव पार्ने विश्लेषकहरुको अनुमान छ ।
चितवन जिल्लाभर ३ लाख ९५ हजार ६ सय ८५ मतदाता छन् भने भरतपुर महानगरपालिकामा मात्रै १ लाख ८५ हजार ७ सय ५२ जनाले मत दिँदै छन्।