काठमाडौँ । आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु हुँदै छ ।
गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पुर्याएको थियो ।
दस महिनापछि पुनः मेलम्चीको पानी वितरण हुन लागेको हो ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गर्नुभएपछि घर–घरमा पानी वितरण हुने बताइएको छ । नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गरेको थियो ।
खानेपानीमन्त्री चौधरीले लामो प्रतीक्षापछि पानी वितरण गर्न पाउँदा आफू निकै खुसी भएको बताउँनुभयो ।
मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आएसँगै उपत्यकामा पानीको सङ्कट निकै कम हुनेछ । खानेपानी मन्त्रालयले आयोजनाको सफाइ र मर्मतको काम सम्पन्न गरी गत २०७८ चैत २९ गते काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरेको थियो । त्यसको एक हप्तापछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको थियो । प्रशोधन केन्द्रमा भण्डारण गरी वितरण केन्द्रमार्फत उपत्यकाका घर–घरमा वितरण गर्न लागिएको हो ।
मन्त्री चौधरीले आयोजनालाई सुरक्षित र दीर्घकालीन बनाउनेबारे विस्तृत अध्ययन भइरहेको र मुहान क्षेत्रका भौतिक संरचना तथा तटीय क्षेत्रको संरक्षणका लागि विस्तृत अध्ययन भइरहेको जानकारी दिनुभयो ।
खानेपानी मन्त्रालय र चिनियाँ कम्पनी सिनो हाइड्रोबीच गत माघ ७ गते सम्झौता भई त्यसको एक हप्तापछि (माघ १४ गतेदेखि) क्षतिग्रस्त आयोजनाको मर्मत र सफाइको काम सुरु भएको थियो । मन्त्रालय र कम्पनीबीच ९० दिनमा पूरा गर्नेगरी भएको सम्झौता निर्धारित समयभन्दा १५ दिनअगावै सम्पन्न भएको छ । कम्पनीले समयमै काम सम्पन्न गर्न अन्य तीनवटा नेपाली सहायक कम्पनीमार्फत तीन चरण गरी २४सै घण्टा काम थालेको थियो ।