पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर÷उपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गर्नुभएको छ । उहाँले गण्डकीमा जुन सुकै बेला सरकार ढल्न सक्ने र एमालेले त्यसको नेतृत्व गर्नुपर्ने भएकोले र्छ । सांसदलाई मेयरको टिकट दिन नहुने बताउनुभएको छ । उहाँको यो अभिव्यक्तिले गण्डकी प्रदेशमा तरंग आएको छ ।
एमाले निकट केही नेताहरुले नै उहाँको व्यक्तिगत अभिव्यक्ति भन्दै ४८ घण्टाभित्र सत्तारुढ दलका ३ सांसदले राजीनामा दिन लागेको सामाजिक सन्जालमै लेख्नुभएको छ । ‘नेकपा एमाले सचिवालय बैठकमा विशेष श्रोतका अनुसार उपमहासचिव कमरेड पृथ्वीसुब्बा गुरूङले ४८ घण्टाभित्र अन्य दलका ३ जना सांसदले राजीनामा दिने र आफ्नो नेतृत्वमा सरकार बन्ने रिपोर्ट गर्नुभएअनुसार पार्टीले कुनै प्रदेश संसदलाई मेयर उठाउन नहुने प्रस्ताव गर्नुभएको छ,’ एमाले निकट इन्जिनियरहरुको संस्था पीनका केन्द्रीय नेता ध्रुव भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
उपमहासचिव गुरुङले समेत जुनसुकै अवस्थामा सरकार ढल्न सक्ने बताउनुभयो । ‘सर्वोच्चले विकल्प रहँदासम्म सरकार बन्न दिनुपर्छ र चुनावमा जान दिनुहुँदैन भनेर फैसला गरेको छ । त्यो हेर्दा गण्डकीमा छिटै एमालेको सरकार बन्न सक्छ,’ उहाँले भन्नुभयो, ‘अहिले सांसदलाई राजीनामा गराएर मेयरमा पठाउँदा समस्या हुन्छ । त्यसैले सांसदलाई टिकट दिन हुँदैन ।’ तर एमालेले नै भरतपुरमा बागमति प्रदेश सांसदलाई मेयर टिकट दिने पक्का भएको छ ।
उहाँले संसदबाट राजीनामा दिइसक्नुभएको छ ।
‘बागमतीमा जति गरेपनि एमालेको सरकार बन्दैन । गण्डकी र लुम्बिनीमा त्यो सम्भावना जिवित छ,’ उहाँ भन्नुभयो, ‘अरु प्रदेशमा जे सुकै होस् । लुम्बिनी र गण्डकी विशेष ख्याल गर्नुपर्छ ।’ तर उहाँको अभिब्यक्तिले खासै प्रभाव पार्ने सम्भावना छैन । किनकी गण्डकी सरकार संविधानको धारा १६८ को उपधारा (५० अनुसार बनेको हो । संविधानतः यही सरकार अन्तिम हो । यदि यो सरकार ढले संसद विघटन हुन्छ र ६ महिनाभित्र चुनावको मिती घोषणा गरिन्छ ।
उहाँको अभिव्यक्तिपछि सत्तारुढ दलहरु सचेत भएका छन् । दलका नेताहरुले आफ्ना सांसद खोजी गर्न थालेका छन् । यहाँ जेठ २९ गते गुरुङ नेतृत्वको एमाले सरकार ढलेर गठबन्धनको सरकार बनेको हो । तर निकै झिनो बहुमतमा । ५९ सांसद रहेको यहाँ सरकारको समर्थनमा सभामुख सहित ३२ सांसद छन् । एकजनाले छोड्ने वित्तिकै सरकार ढल्छ ।
पोखराको मेयरमा एमालेबाट प्रदेश सांसदहरु कृष्णबहादुर थापा र राजीव पहारीको नाम केन्द्रमा सिफारिस भएको छ । उपमहासचिव गुरुङले थापालाई टिकटबाट रोक्न फण्डा गरेको आरोप एकाथरीको छ भने अर्कोथरीले समर्थन गरेका छन् । यहाँको मेयर उपमेयरमा ३÷३ जनाको नाम मतदान प्रक्रियाबाट टुंग्याउन लागिएकोमा अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको हो ।
कास्कीमा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकराव छ । थापा अधिकारी गुटमा खुलेका कारण गुरुङले उहाँलाई रोक्न लागेको दाबी उक्त पक्षको छ ।