पोखरा । एमालेले गण्डकीका २२ भन्दा बढी पालिकाका प्रमुखको उम्मेद्वार सर्वसम्मत सिफारिस गरेको छ ।
विशेष परिस्थितिबाहेक सर्वसम्मत निर्णय भएर आएका उम्मेद्वारहरु फेरिने छैनन् । उनीहरुलाई नै प्रदेश कमिटीले निर्णय गरेर टिकट दिने सचिव धनन्जय दवाडीले जानकारी दिनुभयो ।
उहाँ अनुसार बागलुङबाट ४, म्याग्दीमा २, पर्वतमा १, लमजुङमा १, स्याङजामा ३, तनहुँ १, कास्की १, मनाङ र मुस्ताङका सबै पालिकाहरु सर्वसम्मत भएका छन् । तर, मनाङ र मुस्ताङको निर्णय प्रदेश कमिटीमा आइसकेको छैन ।
बागलुङको ढोरपाटनमा सर्वसम्मत मेयर सिफारिस भएको छ भने उपमेयरमा एकभन्दा बढीको नाम पठाइएको छ । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको प्रमुख उपप्रमुख नै सर्वसम्मत भएको छ ।
म्याग्दीमा अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष नै सर्वसम्मत सिफारिस भएको सचिव धनन्जय दवाडीले जानकारी दिनुभयो । पर्वतको पैंयू गाउँपालिकामा दुवै पद सर्वसम्मत आएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिकामा अध्यक्ष सर्वसम्मत सिफारिस गरिएको छ ।
स्याङजाको आँधीखोला गाउँपालिका र वालिङ नगरपालिकामा सर्वसम्मत सिफारिस भएको छ भने हरिनासमा अध्यक्ष मात्र सर्वसम्मत गरिएको छ । तनहुँमा आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष सर्वसम्मत सिफारिस भएको छ ।
कास्कीको रुपा गाउँपालिकामा अध्यक्ष उपाध्यक्षसहित वडाका अध्यक्ष सदस्यहरू समेत सर्वसम्मत सिफारिस गरेर प्रचार सुरु गरिसकेका छन् । मनाङ र मुस्ताङका सबैजसो पालिका सर्वसम्मत भए पनि अहिलेसम्म डकुमेन्ट प्रदेश कमिटीमा आइपुगेको छैन ।
अरुमा भने छलफल भइरहेको छ । एमालेले बुधबार जिल्ला अध्यक्ष तथा इन्चार्जहरूलाई बोलाएर जिल्लाको बस्तुस्थितिबारे जानकारी लिएको छ ।