काठमाडौं । २०७९ वैशाख ११ गतेभित्र उपत्यकाभित्र मेलम्चीको खानेपानी पुनः वितरण सुरु हुने भएको छ ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानीको २०७८ चैत्र २९ गते काठमाडौं उपत्यकामा पानी पथान्तरण गरिसकिएको जानकारी गराउनुभएको छ । उहाँले वैशाख ११ सम्ममा उपत्यकामा पुनः मेलम्चीको खानेपानी वितरण शुरु हुने बताउनुभएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकामा पथान्तरण भएसँगै २०७९ वैशाख ११ गतेभित्र उपत्यकाभित्र खानेपानी वितरण सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
मन्त्री चौधरीले मेलम्ची खानेपानीको पहिलो चरणको कार्य सम्पन्न भई २०७७ साल चैत १५ बाट क्रमिक रूपमा पुरानो र नयाँ दुवै प्रणालीबाट वितरण कार्य सुरु गरिएकोमा २०७८ असार १ र त्यसपछिको प्राकृतिक प्रकोपका कारण आयोजनामा गम्भीर क्षति पुगी आयोजना सञ्चालनमा अवरुद्ध भएको बताउनुभयो ।
मेलम्ची खानेपानीको विकल्पको रूपमा मन्त्रालयले सिस्नेरी, ठोस्ने र महादेव खोला जलाशययुक्त आयोजना अध्ययन गरिरहेको बताउनुहुँदै उहाँले खानेपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै लानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी वैशाखभित्रै भक्तपुरमा पठाउनुपर्ने धारणा व्यक्त गर्दै मेलम्ची खानेपानी आयोजनाको विकल्पहरूबारे पनि अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मेलम्चीको पानीको विकल्पको रूप सिस्नेरी आयोजनालाई अगाडि ल्याएको बताउँदै पीआईडी र केयुकेएलको काममा स्थानीय तहसँग समन्वय गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्चीबाट पानी पथान्तरणको कार्य हाल पूरा भएकोले उपत्यकाभित्र खानेपानी वितरणमा थप सहज हुने बताउनुभयो ।