काठमाडौं । विहीवारदेखि नेपालमा रिलिज भएको बहु प्रतिक्षित दक्षिण भारतीय फिल्म ‘केजीएफ–च्याप्टर २’ को आइतवारसम्मको टिकट सोल्ड आउट भएको छ ।
यश, सञ्जय दत्त, रविना टण्डन लगायतका कलाकार अभिनित फिल्म ‘केजीएफ–च्याप्टर २’ नेपाली सिनेमा हलहरुमा विहीवार रिलिज भएको हो। नयाँ वर्ष २०७९ वैशाख १ गते प्रदर्शन भएको यो फिल्मको क्रेज नेपालको बक्स अफिसमा देख्न सकिन्छ।
दर्शकहरूको मागलाई हेरेर हल संचालकहरूले बिहान ६ बजेदेखि राति १०ः ४५ सम्मका शोहरू राखेका छन् । ती सबै शोहरू पनि हाउसफुल भइसकेका छन्। दर्शकहरुको क्रेज बढेसँगै नेपाली सिनेमाहलहरुले ‘केजीएफ २’ को शो बिहान १ बजेदेखि नै उपलब्ध गराएको छ।
चावहिलस्थित एफक्युब सिनेमाजले ‘केजीएफ २’ लाई बिहान १ बजेको शो दिएको हो। नेपालमा इतिहासमै पहिलोपटक यसरी बिहान १ बजे (मध्यरात) फिल्म शो राखिएको हो । एफक्युब सिनेमाजले शुरुमा बिहान ४ बजेको शो राखेको थियो । तर त्यो शो आधा घन्टामै हाउसफुल भएपछि ३ र ३ः ४५ बजेको शो थपिएको थियो । ती शोहरू पनि हाउसफुल भएपछि बिहान १ बजेको शो राख्न बाध्य भएको हल सञ्चालकले बताए ।
केजीएफ २ मा देखिएको दर्शकको क्रेजले फिल्म क्षेत्र नयाँ वर्ष निकै शुभ रहने संकेत मिलेको प्रदर्शकहरु बताउछन् ।
त्यसैगरि, बिग मुभिजले पनि ‘केजीएफ २’ लाई बिहान ३ बजेको शो दिएको छ। बिहान ३ बजेको शो पनि हाउसफुल हुन लागिसकेको बिग मुभिजका म्यानेजर दिपेश शर्माले जानकारी दिनुभयो । उहाँले नयाँ वर्षमा नेपालमा नयाँ इतिहास कायम भएको उहाँले बताउनुभयो ।
‘केजीएफ २ ले बिहान १ बजेदेखि नै शो पाउँदा अनमोल केसी र सुहाना केसी अभिनित नेपाली फिल्म ‘ए मेरो हजुर ४’ भने मर्कामा परेको छ। फिल्म ‘ए मेरो हजुर ४’ पनि विहीवारबाटै देशभर रिलिज भएको छ । नेपाली सिनेमा हलहरुमा दक्षिण भारतीय फिल्मले कब्जा जमाउँदा नेपाली फिल्म ए मेरो हजुर ४’ ले भने न्यून संख्यामा मात्रै शो पाएको छ।