काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विहीवार विसु पर्व मनाइँदै छ ।
नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसु पर्वका रुपमा मनाउने गरेका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोशीले बताउनुभयो ।
सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भई मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने मनाउने गरिएको पाइन्छ ।
सिस्नो लगाएर मनाइन्छ पर्व
सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर विसु पर्व मनाउने गरिएको छ । देवर र भाउजू तथा साली र भिनाजु एकापसमै सिस्नो लगाएर नयाँ वर्ष तथा विसु पर्व मनाउने गरेका छन् ।
बिसुका दिन सिस्नो लगाए वर्षभरि संकट नआउने जनविश्वास रहेको अमरगढी नगरपालिका–७ का टेकराज भट्टले बताउनुभयो । यस दिन सिस्नो लगाउँदा वर्षभरि राम्रै बित्ने र संकट नआउने उहाँले बताउनुभयो ।