हेटौडा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयर रउपमेयर पदको सिफारिस गरिएको छ ।
एमालेले मेयर पदको लागि ९ जना र उपमेयर पदको लागि ७ जनाको नाम सिफारिस गरेको हो । आइतबार बसेको नगर कमिटिको बैठकमा सहमति नजुटेपछि आकांक्षी सबै जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि आकांक्षी हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गरिएको हो ।
महत अहिले पनि मेयर हुनुहुन्छ भने खुलाल जिल्ला समन्वय समितिका प्रमुख रहनुभएको छ । राना नेकपा एमाले केन्द्रीय सदस्य हुनुहुन्छ भने श्रेष्ठ जिल्ला अध्यक्ष हुनुहुन्छ ।
यस्तै मेयरका अर्का आकांक्षी पौडेल दोश्रो संविधानसभा सदस्य रहनुभएको थियो । दाहाल र चौंलागाईं भने अधिवक्ता हुनुहुन्छ । महर्जन यस अघि हेटौंडा उपमहानगरपालिकाको वातावरण महाशाखा प्रबन्धकमा कार्यरत हुनुहुन्थ्यो ।
मेयर पदमा सिफारिस एक मात्र महिला प्रधान भने जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य हुनुुहुन्छ । उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ ।