काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुख पदको उम्मेदवार सिफारिस गरेको छ ।
एमालेको विराटनगर महानगर कमिटीको शनिवार बसेको बैठकले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि प्रमुखमा ५ जना र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो ।
एमालेले प्रमुखको उम्मेदवारमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईलाई सिफारिस गरेको हो । यसअघि एमालेका केन्द्रीय नेता तथा पूर्वमन्त्रीहरू लालबाबु पण्डित, जीवन घिमिरेलगायतको नाम समेत चर्चामा ल्याएको थियो ।
सिफारिस गरिएको नाममध्ये थापा एमाले विराटनगरका अध्यक्ष हुनुहुन्छ । यस्तै साह केन्द्रीय सदस्य, कार्की जिल्ला उपाध्यक्ष, बस्नेत र भट्टराई प्रदेश सदस्य हुनुहुन्छ ।
यस्तै एमालेले उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अन्जु उपाध्याय (शिला) को नाम सिफारिस गरेको छ । कार्की एमाले महानगरपालिकाकी उपाध्यक्ष हुनुहुन्छ भने दाहाल प्रदेश सदस्य र उपाध्याय जिल्ला सदस्य रहनुभएको छ । जिल्लाले प्रदेशमा पठाएपछि प्रमुख र उपप्रमुखको नाम टुंग्याउने बताइएको छ ।
यसैबीच एमालेले तीन वटा वडाको वडाअध्यक्षसहित सदस्यहरूको नाम टुंगो लगाएको छ । विराटनगर १०, ११ र १९ नम्बर वडाको उम्मेदवारी सर्वसम्मतिले टुङ्ग्याएको हो । विराटनगर १० को वडाअध्यक्षमा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेलाई पार्टीले वडाअध्यक्षको उम्मेदवारी बनाउने सर्वसम्मतिले टुंगो लगाएको एमाले विराटनगरका अध्यक्ष सागर थापाले बताउनुभयो । ।
बाँकी रहेका १६ वटा वडाका उम्मेदवार पनि केही दिनभित्रमा टुंग्याउने एमालेले जनाएको छ ।