काठमाडौं । नेकपा एमाले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को प्रशिक्षण तथा अभिमुखीकरण भेला सम्पन्न भएको छ ।
शुक्रवार आयोजित भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि काठमाडौं क्षेत्र नम्बर ३ का संघीय सांसद तथा एमाले पोलिटब्यूरो सदस्य कृष्ण राईले नगरको प्रारम्भिक मत सर्वेक्षणमा एमालेको पक्षमा जनमत बढी रहेको देखाएको बताउनुभयो । एमालेका विरुद्ध देशैभर गठबन्धन गरिएको प्रसँग उल्लेख गर्दै उहाँले गठबन्धन हुनु एमालेका लागि अवसर हुने दाबी गर्नुभयो । भिन्न भिन्न स्कूलिङ र विचारका दलहरुबीच गठबन्धन हुँदा आपसी स्वार्थ बाझिने भएकोले त्यसको फाइदा एमालेलाई पुग्ने उहाँले बताउनुभयो । हिजोको जनलहर र अहिले गरिएको प्रारम्भिक मत सर्वेक्षणले वडा नम्बर ५ सहित सिंगो नगरमै एमालेको जित सुनिश्चित रहेकोले निर्धक्क रहन उहाँले आग्रह गर्नुभयो । तर जनताको भावना बुझेका र जनतासँग भिजेका उम्मेदवार चयन गर्नुपर्ने बताउदै उहाँले सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्न सुझाव दिनुभयो । स्थानीय मतदातामध्ये ७५ प्रतिशत मतदाता तठस्ट हुन्छन् । उनीहरुलाई जित्ने भनेको काम र विचारले हो । त्यसैले प्रष्ट विचार बोक्ने र जनताका अपेक्षा पूरा गर्ने गरि विकास निर्माणका काम र योजना बनाउनसक्ने उम्मेदवार उठाउनुहोस्, राईले भन्नुभयो ।
संसद राईले राजनीतिमा गठबन्धनको संस्कार गलत र घातक हुने भन्दै यसबारेमा जनतालाई बुझाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय निर्वाचनमा गठबन्धनभन्दा व्यक्ति र विचार प्रधान हुने भएकोले गठबन्धनबाट कुनै डर नभएको उहाँको भनाइ छ ।
उहाँले नेपाली काँग्रेसले ५ वर्ष स्थानीय सरकार चलाउदा देखिने गरि एउटा गतिलो काम गर्न नसकेको बताउनुभयो । आफ्नो भवनको जगसमेत राख्न नसकेको मेयर र उपमेयर चुनावलाई लक्षित गरी शिलान्यास कार्यक्रमहरुमा व्यस्त रहन थालेको उहाँको भनाइ छ । देखावटी कार्यक्रमहरु गरेर अहिलेका मतदातालाई प्रभावित पार्न नसकिने उहाँले बताउनुभयो । तर चुनावकै लागि भनेर नगरपालिकाको झण्डै ६० करोड पैसा अपारदर्शी रुपमा बाँडीचुँडी गरेको जानकारी आफूले पाएको बताउदै सांसद राईले त्यसको हिसावकिताव अबको निर्वाचनमा जनताले गर्ने प्रष्ट पार्नुभयो । काँग्रेसले विगतमा गरेका प्रतिवद्दता कुनै पूरा गर्न नसकेको दाबी गर्दै उहाँले हिजो काँग्रेसलाई भोट दिएका जनता रुष्ट रहेको जिकिर गर्नुभयो । नागरिकतामा सही गर्न, नाता प्रमाणित गर्न र चार किल्ला छुट्याउन जनताले मत दिएर जिताएर नपठाउने भन्दै उहाँले वडा र नगरको विकास गरि नमूना बनाउने सपना पूरा गर्न अब यहाँका जनताले एमालेलाई जिताएर पठाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
भेलामा क्षेत्र नम्बर ३ निर्वाचन क्षेत्र समन्वय कमिटीका क्षेत्रीय इञ्चार्ज उद्धव भण्डारीले प्रतिपक्षीको कमजोरी खोजेर र आलोचना मात्र गरेर चुनाव जित्न नसकिने भएकोले जनताको मन जित्ने कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि जनताको घरदैलोमा पुगेर उनीहरुका आवश्यकता र सुझाव संकलन गर्न उहाँले आग्रह गर्नुभयो । समाजवादको बाटो एमालेले मात्र समातेको जिकिर गर्दै उहाँले उत्पादन तथा रोजगारीलाई एमालेले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
एमाले नगर अध्यक्ष उद्धव विष्टले अहिले गोकर्णेश्वर नगरपालिकाको ९ वटै वडामा एमालेलाई जिताउने लहर स्वस्फुर्त रुपमा जागेको बताउनुभयो । हिजो काँग्रेस नेतृत्वको नगरपालिकाले जनतालाई सुशासन र विकासबाट बञ्चित गरेको दाबी गर्दै उहाँले नगरपालिका बनिसकेपछि नगरवासीले पाउनुपर्ने न्यूनतम सेवा र सुविधा केही पनि नपाएको बताउनुभयो । सामान्य सिफारिस लिन हप्तौं लगाउने, मेयर,वडाध्यक्षसहित जनप्रतिनिधि कार्यालयमा भेट्नै मुस्किल परेको कुरालाई नगरवासीले अबको निर्वाचनमा राम्रो हिसावकिताव गर्ने उहाँको भनाइ छ । नगर कमिटी अध्यक्ष विष्टले नगरवासीको भावना र मर्म बुझेर, वडा र टोल टोलमा पुगेर त्यहाँका समस्या र अप्ठ्यारालाई आत्मसात गरि एमालेले घोषणा पत्र र प्रतिवद्दता पत्र तयार गरिने जानकारी पनि विष्टले दिनुभयो । उक्त प्रतिवद्दता एमालेले निर्वाचित भएको पाँच वर्षभित्र पूरा गरेरै छोड्ने उहाँले दाबी गर्नुभयो । समृद्ध,विकसित र स्मार्ट गोकर्णेश्वर नगरपालिका बनाउने एमालेको प्राथमिक प्रतिवद्दता हुने उहाँले जानकारी दिनुभयो ।
भेलामा नेताहरु तारा प्रसाई,पुण्य चौंलागाई र लिला खतिवडा लगायतले पनि वडा नम्बर ५ सहित सिंगो गोकर्णेश्वर नगरपालिकामा एमालेलाई कुनै शक्तिले रोक्न नसक्ने बताउनुभयो । नेपाली काँग्रेसको अनियमितता र अपारदर्शीताबाट आजित वडा र नगरवासी जनताले एमालेको जित सुनिश्चित हुनु भनेको विकास,निर्माण र जनताका सपना सुनिश्चित हुनु हो भन्ने बुझिसकेको नेताहरुको भनाइ छ ।
भेलाको सभापतित्व गर्नुभएका वडा नम्बर ५ कमिटी अध्यक्ष इन्द्रप्रसाद चौंलागाईले सर्वसम्मत उम्मेदवार सिफारिसको पहल हुने बताउनुभयो । एमालेको नीति र जनताका आवश्यकता नजिकबाट बुझेका व्यक्तिलाई उम्मेदवार बनाइने उहाँले जानकारी दिनुभयो ।