काठमाडौं । आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागु हुने भएको छ ।
यसबारे जानकारी दिन शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुने बताउनुभयो ।
उहाँले आचारसंहिता उल्लंघन गर्ने कसैलाई छुट नभएको र गरेमा कारबाही गरेरै छाड्ने बताउनुभयो ।
के केमा प्रतिबन्ध ?
आयोगले शुक्रवारदेखि नै लागू हुने निर्वाचन आचारसंहितामा उम्मेदवार र दलहरु बाहेक सामाजिक सञ्जालबाट प्रचार प्रसार गर्न नपाउने नियम बनाएको छ । आचारसंहितामा झोला, टिसर्ट, ब्याग छाप्न र वितरण गर्न समेत रोक लगाएको छ ।
राजनीतिक दल वा उम्मेदवारहरूले प्रचार प्रसारको सिलसिलामा ७५ ग्रामसम्मको कागजमा ३ सय वर्ग इन्च सम्म आकारको एउटै रंगको पर्चा, उम्मेदवारको कार्यालयमा तीन गुणा तीनसम्म दलको झण्डा र सोही नापको चुनाव चिन्ह, उम्मेदवारले ‘ए फोर साइजको आफ्नो व्यक्तिगत पहिचानको विवरण वितरण गर्न सकिने व्यवस्था गरिएकोले दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा लगायतका कार्यक्रम गर्दा निर्वाचन अधिकृतको अनुमित लिई सोही बमोजिमको आकार र संख्याको दलको झण्डा र चुनाव चिन्ह मात्र प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।
आयोगले झण्डा, टिसर्ट, आमसभा, भेला लगायतका आचार संहिता अनुसारको मात्र प्रयोग गर्न भनेको छ । त्यसैगरी मौन अवधिमा मत माग्न, प्रचार गर्न नपाइने, मादक पदार्थको विक्री वितरण र सेवनमा पूर्ण निषेध गर्न भनेको छ । आयोगले उम्मेदवारले राजीनामा दिनुपर्ने भन्ने विषयमा भने अदालतमा मुद्दा रहेकाले त्यसबारे कुनै निर्णय गर्न नपरेको पनि जनाएको छ ।
आचारसंहिता उल्लंघन भए प्रक्रिया बमोजिम उम्मेदवारको उम्मेदवारी समेत रद्द गर्न सक्नेतर्फ आयोगले सचेत गराएको छ । आयोगले निर्वाचन स्वच्छ र स्वच्छ र मर्यादित बनाउन आयोगका साथै सरोकारवालाहरूले पनि साथ र सहयोग गर्न भनेको छ ।