काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच जम्काभेट भएको छ।
१० महिनाअघिसम्म एकै पार्टीमा रहेका यी दुई नेताबीच संवाद नै नरहेको अवस्थामा मंगलबार दिउँसो जम्काभेट भएको हो ।
यी दुई नेताबीच पार्टी कार्यक्रममा उपत्यका बाहिर जाने क्रममा त्रिभुवन विमानस्थलमा जम्काभेट भएको हो। उक्त दिन मध्यान्ह एमाले अध्यक्ष ओली काठमाडौंबाट सिमरा हुँदै वीरगञ्जको पार्टी कार्यक्रममा जाँदै हुनुहुन्थ्यो ।
उता समाजवादी अध्यक्ष नेपाल काठमाडौंबाट भैरहवा हुँदै कपिलवस्तुमा हुने पार्टी कार्यक्रमलाई सम्बोधन गर्न जाँदै हुनुहुन्थ्यो ।
सिमरा जानका लागि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलस्थित भीआइपी कक्षमा यी दुई शीर्ष नेताबीच जम्काभेट भएको हो ।
एकअर्कालाई अकस्मात भेट्नुपर्दा दुई नेताबीच केही बेर असहज अवस्था बनेको प्रत्यक्षदर्शीको भनाइ छ ।
तर, दुई नेताबीच केही बेर हेराहेरपछि अध्यक्ष नेपालले ओलीलाई के छ खबर ? भनेर सोध्नु भएको थियो। त्यसको जवाफमा ओलीले, ठीकै छु, भनेर उत्तर फर्काउनु भएको थियो ।
दुई नेताहरु एउटै सोफामा करिब १५ मिनेट बसे पनि कुनै औपचारिक संवाद भने नभएको बताइएको छ ।
छोटो संवाद भएपछि ओलीले नेपालसँग बोल्नुपर्ने बाध्यता टार्न आफूलाई पत्रिकातिर केन्द्रित गर्नुभएको थियो ।