काठमाडौँ । अमेरिकाबाट नेपालमा शङ्कास्पद रूपमा ४० करोड भित्रिएको समाचारबारे अर्थमन्त्री जनार्दन शर्माका प्रेस विज्ञले प्रष्टीकरण दिएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माका प्रेस विज्ञ अजित अधिकारीले विहीवार प्रेस नोट निकालेर ४० करोड नभई १४ करोड बराबरको अमेरिकी डलर मात्रै रोक्का भएको दाबी गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कको निर्देशनमा पृथ्वीबहादुर मल्लले अमेरिकाबाट नेपाल भित्र्याएको रकम रोक्का भएपछि त्यसबारे अर्थमन्त्रीले चासो राख्नुभएको प्रेस नोटमा उल्लेख छ ।
प्रेस नोटमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानबाट शाहको खाता रोक्का राखिराख्नु पर्ने नदेखिएको भन्दै फुक्का गर्न पत्र पठाए पनि फुकुवा नभएपछि शाहले मन्त्रीकोमा निवेदन दिएपछि शर्माले कानुन अनुसार फुकुवा गर्न भनेको उल्लेख छ।
प्रेस नोटमा विदेशी लगानी आकर्षित गर्नुपर्ने वाध्यात्मक परिस्थिति भएका बेलामा स्वतःस्फूर्त रूपमा आएको विदेशी लगानीलाई समेत अनेक बहानामा रोक्का गरी नेपालमा लगानी ल्याउन चाहनेलाई निरुत्साहित गर्न खोज्ने प्रवृत्ति अत्यन्तै गैर जिम्मेवार र कानुनको बर्खिलाप भएको दाबी गरिएको छ।
प्रेस नोटमा अनुसन्धानका क्रममा शाहको कुनै दोष फेला नपरेको भन्दै सफाइ समेत दिइएको छ। न्यायका लागि गरेको अनुरोधमा अर्थमन्त्रीले कानुनको पालना गराउन गरेको अनुरोधलाई अनर्गल प्रचार गरिएको प्रेस नोटमा दाबी गरिएको छ।
मल्लले अर्थमन्त्री शर्मालाई बुझाएको पत्रमा वर्ड ट्राभल्स एन्ड इन्भेस्टमेन्ट, वर्ल्ड फस्ट होलिडे, वर्ल्ड वाइड रेमिट, वर्ल्ड एक्सपर्ट एन्ड इम्पोर्ट, टाइमस्स टुडे पिस होलिडे, पे सेफ रेमिट लगायतका कम्पनीको सञ्चालक रहेको उल्लेख गरेका छन्।
उनले अर्थमन्त्रीलाई बुझाएको पत्रमा विगतको सम्पूर्ण कारोबारको विवरण प्रमाणसहित राष्ट्र बैङ्कसहित विभिन्न निकायमा बुझाएको दाबी गरेका छन्।
बिहीबार सार्वजनिक भएको सम्पत्ति शुद्धीकरण विभागको पत्रमा विभिन्न बैङ्कका खाताहरू रोक्का राखी जाँचबुझ गर्दा तत्काल प्राप्त प्रमाणबाट शाह समेतको कसुर अपराध गरेको स्थापित हुने आधार नदेखिएको भन्दै बैङ्क खाता रोक्का राखी रहनु नपर्ने उल्लेख छ। तर २०७८ माघ १७ मा काटिएको सो पत्रमा प्रारम्भिक अनुसन्धानकै आधारमा खाता रोक्का राख्न प्रारम्भिक जाँचबुझ अधिकृतले पत्र काटेको देखिन्छ। २०७५ कात्तिक २९ मा वित्तीय जानकारी इकाइबाट अर्को पत्र गएको देखिन्छ।
अनुसन्धानपछि विभागको २०७८ माघ ११ गते शाहको रोक्का रहेको बैङ्क खाताहरू खुल्ला गर्ने निर्णय भएको पत्रमा देखिन्छ। विभागको पत्र अनुसार शाहबारे २०७४ माघ २९ गते राष्ट्र बैङ्कले पत्र पठाएको देखिन्छ।