काठमाडौं । निर्वाचन आयोगले अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ।
आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै चुनावी कार्यक्रम गर्न कम्तीमा ७२ घण्टा अघि स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराउनुपर्ने जनाएको छ ।
जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो।
आयोगको निर्देशनमा भनिएको छ, ‘जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनु पर्नेछ।’
कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम कसैले पनि बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पु¥याउन नहुने पनि आयोगको निर्देशनमा उल्लेख छ ।
राजनीतिक दलहरूबाट आफ्ना सभा, सम्मेलन, अधिवेशन, बैठक, भेला, आमसभा वा यस्तै प्रकृतिका कार्यक्रम संचालन गर्दा राखिएका दलका झण्डा, चिन्ह वा अन्य प्रचार प्रसार सामग्री निर्वाचन आचारसंहिता विपरित हुने कुनै कार्यहरू भै रहेको वा हुने भए निर्वाचन आचारसंहिता लागू भएको १२ घण्टाभित्र अनिवार्य हटाउने र स्थगन गर्नुपर्ने आयोगको निर्देशनमा भनिएको छ ।