काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका सत्तारुढ दलहरुबीच चुनावी तालमेलबारे आशंका बढेको छ ।
गठबन्धनभित्रकै दलका नेताहरुले गठबन्धनको औचित्य नभएको भन्दै अवज्ञा गर्ने सम्मका अभिव्यक्ति दिदै आएका छन् । तालमेलबारे गठबन्धनको नेतृत्व दल कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । डा शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ ।
कांग्रेसको संस्थापनइतर पक्षको नेतृत्व गरेका कोइराला पक्षबाट निरन्तर गठबन्धनविरोधी अभिव्यक्ति आएपछि माओवादी पनि त्यति सन्तुष्ट छैन । त्यसमाथि माओवादी अध्यक्ष पुष्पकमल दाहालकै गृहजिल्लामा काँग्रेसले गठबन्धन स्वीकार्न नसकिने भन्दै केन्द्रको निर्देशन समेत नमान्ने बताउदै आएको छ । यसबाट पनि माओवादी थप सशंकित बनेको छ । त्यसैले उसले सत्तारुढ दल इत्तर गठबन्धनको सम्भावना खोजी शुरु गरेको छ । माओवादीले वाम गठबन्धनलाई प्राथमिकतामा राखेर नेकपा एमालेसँग चुनावी तालमेलका लागि अनौपचारिक प्रस्ताव समेत गरिसकेको बताइएको छ ।
नेता वर्षमान पुनले माओवादी–एमालेबीच तालमेलबारे छलफल भइरहेको बताउनुभएको छ । यता एमाले अध्यक्ष केपी शर्मा ओली पनि माओवादीसँग मिलेर जाँदा कमसेकम सत्ता गठबन्धन कमजोर बन्ने भएकोले माओवादी प्रस्ताव स्वीकार्ने मनस्थितिमा रहनुभएको निकट स्रोतको भनाइ छ ।
गठबन्धनका शीर्ष नेताहरूले भने अन्तिम समयसम्म पनि सत्तारुढ गठबन्धनलाई नै थप मजबुत बनाएर लैजानुपर्नेमा जोड दिदै आएका छन् ।
यसैबीच चार दलीय गठबन्धनले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे मंगलवार थप निर्णय गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकाएर स्वेदश फर्कनुभएकोले तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न मंगलबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकको मिति तय भए पनि समय तय हुन बाँकी रहेको बताउनुभयो ।
१७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेयता प्रदेशदेखि पालिकास्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल सुरू भएको छ ।