काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म शनिवारदेखि नियमित रुपमा रेल सेवा सञ्चालन शुरु हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा हो । यो रेल सेवा शुरु भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा शुरु हुनेछ ।
शनिबार रेलगाडीमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिनुभयो ।
शनिबार उद्घाटन भएपछि आइतबारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो । उहाँका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समयतालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने उहाँले जानकारी दिनुभयो ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि सरकारले दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) ल्याइएको थियो । एउटा रेलमा एक हजार ३५० यात्रु यात्रा गर्न सक्ने महाप्रबन्धक झाले जानकारी दिनुभयो । यात्रुले आफ्नो साथमा साना झोला लैजान पाउने छन् । तत्काल सञ्चालनमा आउन लागेको यात्रुबाहक रेलगाडी हुन् । अहिले सञ्चालन हुन लागेको कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण दुई वर्ष पहिले नै सकिएको थियो ।
हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ । त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ । कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झण्डै सकिएको र अबको दुईचार महिनामा रेल सञ्चालन गर्न सकिने विभागका प्रवक्ता चित्रकारले जानकारी दिनुभयो । ३५ किमीमा आठ ठाउँमा रेल रोक्न सकिनेछ ।
नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने प्रवक्ता चित्रकारले बताउनुभयो । यसले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ । एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्को स्टेशन आउँछ । यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा एक सय किमी प्रतिघण्टा छ । मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उहाँले जानकारी दिनुभयो । डेढवर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको हो ।
कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ । एसिका लागि भने त्यसको पाँच गुणा अर्थात रु ४५० तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वतः भाडादर त्योभन्दा कम हुनेछ ।
रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको थियो ।