काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष नियुक्त गरेको हो । योसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ ।
सरकारले गत पुसको २१ मा २८ जिल्लाको अध्यक्ष तोकेको थियो ।
४३ जिल्लामा तोकिएका अध्यक्षको सपथ विहीबार नै भएको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जानकारी दिनुभयो । भूमि आयोगमा सरकारले सत्तारुढ दलको भागवण्डाको आधारमा अध्यक्षहरु मनोनित गरेको हो ।
अध्यक्ष र भूमि विज्ञसहित अरु दुई जनालाई दलीय भागबण्डामा जिल्लामा मनोनित गरिने व्यवस्था छ । जिल्लामा डिभिजन वन, मालपोत, नापी, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिका १–१ जना भूमि आयोगको जिल्ला संरचनाको सदस्य हुने कार्याविधि छ । जिल्लानमा नापी कार्यालयको प्रतिनिधि सदस्य सचिव हुनेछन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगलाई विघटन गरेर ‘राष्ट्रिय भूमि आयोग’ गठन गरिएको थियो ।
नेपाली कांग्रेस निकट शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्षको जिम्मेवारी दिइएको छ ।
आयोगलाई भूमिहिनको पहिचान गरि जग्गा वितरण गर्ने अधिकार छ ।