काठमाडौं । पछिल्लो गीति प्रस्तुति पिरबाट विवादमा तानिएका गायक तथा निर्देशक प्रकाश सपुत त्यसयता कुनै सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । उनले पिरमा देखाएको जनयुद्धको कथानकप्रति माओवादी नेता तथा कार्यकर्ताहरुले आपत्ति जनाएपछि अन्ततः भिडियोलाई पुनः सेन्सर गरेर स्थितिलाई सामान्य बनाउने काशिस गरेका छन् । उनको कोशिसले पछिल्लो समय काम पनि गरिरहेको छ अर्थात पिरको विवाद पनि अहिले सेलाइसकेको छ ।
अवस्था सामान्य बन्दै गएपछि प्रकाश पनि सार्वजनिक कार्यक्रमहरुमा देखिन थालेका छन् । गीत रिलिजपछि प्रत्यक्ष अप्रत्यक्ष सुरक्षा थ्रेट आएपछि लगभग भूमिगत जस्तै बनेका प्रकाश पहिलोपटक यसै साता कपिलवस्तुमा आयोजित कृषि मेला तथा महोत्सवमा सार्वजनिक भएका हुन् । महोत्सवमा प्रकाश सपुत पनि आउने भएपछि कार्यक्रम आयोजकभित्रै विवाद भएको स्रोतको भनाइ छ । कतिसम्म भने आयोजकमध्येकै केहीले प्रकाशको प्रस्तुति भैरहँदा विरोधमा कालो झण्डा देखाउने तयारी समेत गरेको ती स्रोतले बतायो । पछि अन्य आयोजकहरुले प्रकाश विरोधीहरुलाई कार्यक्रमस्थलमै आउन नदिने गरी व्यवस्थापन गरेपछि प्रकाश कार्यक्रममा सहभागी भएको बताइन्छ ।
आयोजकभित्रकालाई व्यवस्थापन गरे पनि आम दर्शकका रुपमा आउने विरोधीहरुबाट भने प्रकाशलाई सुरक्षा थ्रेट यथावत थियो । त्यसैले प्रकाशको प्रस्तुतिको दौरान प्रहारीको ठूलो संख्या महोसवस्थलमा परिचालन गरिएको थियो । अर्थात उच्च सुरक्षा घेराभित्र प्रकाश स्टेजमा उत्रिएका थिए । प्रहरीले छानविन गर्ने क्रममा दर्शक बनेर आएका दुई जनालाई धारिलो हतियार छुरासहित नियन्त्रणमा लिएको थियो ।
उच्च सुरक्षा घेराकाबीच स्टेजमा चढेका प्रकाशले शुरुमै विवादित गीत पिर गाएका थिए । त्यसपछि बोलमाया, मेरो पनि देश होइन र ? गलबन्दी लगायतका आफ्ना चर्चित गीतहरु गाएर प्रकाशले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरे ।
पिरको विवादपछि पहिलो सार्वजनिक कार्यक्रम सफल भएको भन्दै प्रकाशले आयोजक र दर्शक सबैलाई धन्यवाद दिएका छन् ।
कपिलवस्तुको कार्यक्रमको अनुभवले कमसेकम अबका केही समय प्रकाशका लागि सहज छैनन् भन्ने देखाएको छ । उनलाई सहभागी गराउदा कार्यक्रम आयोजकले सुरक्षा व्यवस्थापनमा अतिरिक्त तनाव लिनुपर्ने भएकोले उनको माग हुँदा हुँदै पनि सबै आयोजकले आँट गर्नसक्ने अवस्था देखिदैन ।
अष्ट्रेलियामा यसै साता हुने सांगीतिक कार्यक्रमबाट भने अन्तिममा आएर प्रकाशलाई हटाइएको छ । यसमा पनि उनको पिर गीतको विवाद र सम्भावित सुरक्षा थ्रेटलाई प्रमुख कारण मानिएको छ ।
*पुनः सम्पादन गरिएको