काठमाडौँ । केही दिनअघि मात्र नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर अध्यक्ष केपी शर्मा ओलीसँगै विभिन्न कार्यक्रमहरुमा देखिन थालेकी छिन् ।
कपिलवस्तुमा सोमबार एमालेद्वारा आयोजित कार्यक्रममा पनि उनी सहभागी थिइन् । उक्त कार्यक्रमलाई त करिश्माले सम्बोधन समेत गरिन् । सम्बोधनका क्रममा उनले आफू जन्मेदेखि नै सूर्यसँग विशेष सम्बन्ध रहेको रहस्य खोलिन् । उनले आफ्नो न्वारानको नाम सूर्जेकुमारी भएको बताइन् ।
अभिनेत्री मानन्धरले सूर्यले सिंगो सौर्य मण्डल धानेको बताउदै नेपाललाई पनि सूर्य अर्थात नेकपा एमाले मात्र धान्नसक्ने जिकिर गरिन् ।
‘आज एउटा कुरा रिभिल गरिदिऊँ कि जस्तो लाग्यो । मेरो न्वारानको नामचाहिँ सूर्जेकुमारी हो है‚’ उनले भनिन्‚ ‘सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्ने छ ।’
तर एमालेका नेताहरु नचिन्दा सभामा करिश्माको हँसीमजाक भएको थियो । भाषणको सुरुवातमै उनले एमाले उपाध्यक्ष विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई वरिष्ठ महासचिव भनेर सम्बोधन गरेपछि हँसीमजाक भएको हो । तर उनले आफू भर्खरै मात्र एमालेमा प्रवेश गरेको भन्दै कुटनीतिक रुपमा आफूलाई सच्याएकी थिइन् ।
‘म एउटा नयाँ मान्छे । नेकपा एमाले पार्टीको निम्ति भर्खर छिरेको एउटा सदस्यलाई यसरी बोल्नलाई अगाडि सारेकोमा सबै नेतागणलाई धन्यवाद दिन चाहन्छु‚’ उनले भनिन्‚ ‘यहीँबाट थाहा हुन्छ कि यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरूलाई मौका दिइन्छ ।’
एमालेले महिलाहरूलाई मौका दिने भन्दै अभिनेत्री मानन्धरले हरेक वर्ग‚ तह‚ तप्काका मानिसहरूलाई पार्टीले महत्त्वका साथ हेर्ने बताइन् ।
एमालेमा प्रवेश गरेपछिको करिश्माले पहिलो पटक आमसभालाई सम्बोधन गरेकी हुन् । करिश्मालाई चैत ८ गते अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराउनुभएको थियो ।