काठमाडौं । कााग्रेसले औपचारिक निर्णय गर्न बाँकी रहे पनि सत्तारुढ गठबन्धनका दलहरु आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने तयारीमा लागेका छन् ।
स्रोतका अनुसार दलहरुले आगामी निर्वाचिनका लागि गठबन्धनको ढाँचा समेत तयार पारेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेता आगामी निर्वाचिनका लागि गठबन्धनको ढाँचा तयार पार्न जुटेका छन् ।
काँग्रेसले सत्ता गठबन्धनका शीर्ष नेताहरूको आगामी बैठकले गठबन्धनको ढाँचालाई अन्तिम रुप दिने बताइएको छ । अहिले जितेको स्थान आफैले लिने र एमालेले जितेको स्थानमा मात्र भागबन्डा गर्ने सहमति दलहरुबीच भएको स्रोतको भनाइ छ ।
हालका लागि स्थानीय तह निर्वाचन केन्द्रीत गठबन्धन भनिए पनि आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म गठबन्धन कायम गर्ने गरी शीर्ष नेताहरु तयारी लागेका छन् ।
यस्तो छ भागबण्डकाको तयारी
गठबन्धनका शीर्ष नेताहरूले महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट टुंग्याएर नगरपालिका र गाउँपालिकामा तल्लो तहका कमिटीलाई निर्णय गर्न दिने समझदारी गरेका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा ६ महानगरमध्ये कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिका जितेको थियो । एमालेले काठमाडौं र पोखरा, माओवादी केन्द्रले भरतपुर र जसपाले वीरगञ्ज महानगरपालिका जितेको थियो ।
स्रोतका अनुसार एमालेले जितेको काठमाडौं र पोखरामध्ये एक महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउने सहमति शीर्ष तहमा भइसकेको छ । बाँकी एउटा महानगर भने काँग्रेसले लिने बताइएको छ ।