काठमाडौं । आजभन्दा केही साता अघिसम्म अभिनेता पल शाहको दैनिकी शुटिङ सेटमा क्यामरा,लाइटस्,डान्स वा एक्सन कटमै वित्थ्यो ।
नेपाली म्यूजिक भिडियोका सुपरस्टार कहलिएका उनले कतिपय अवस्थामा मन राखिदिनकै लागि भए पनि मुस्किलले समय दिनुपथ्र्यो । स्रोतका अनुसार म्यूजिक भिडियोबाटै उनको मासिक आम्दानी औसतमा आधा करोडसम्म पुग्थ्यो । फिल्म, ब्राण्ड प्रोमोशन र स्टेज शोहरुबाट हुने आम्दानी पनि लोभलाग्दो थियो । पलकै कारण यस क्षेत्रका धेरैले काम पाउँथे । त्यसैले पल उनीहरुका लागि रियल हिरो थिए ।
तर नाबालिगमाथि बलात्कारको अभियोगपछि पलको जिन्दगीमा अकल्पनीय ट्वीस्ट आयो, एकाएक सबै नाटकीय रुपमा परिवर्तन भए । प्रहरी हिरासतमा निकै दिनसम्मको बयानपछि अन्ततः जिल्ला अदालत तनहूँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । अदालतको आदेपछि प्रहरी हिरासतमा रहेका पललाई जिल्ला कारागार तनहुँमा राखिएको छ ।
पल हाल जिल्ला कारागार तनहुँको बि ब्लकमा छन् । त्यसो त बि ब्लक ८० जना क्षमताको हो । तर उनीसँगै बि ब्लकमा १४० जना कैदीबन्दी छन् । तनहुँ कारागारमा १३ जना महिला कैदीबन्दी सहित कुल २५८ जना छन् ।
पललाई दैनिक ६० रुपैयाँ नगद सिदा र सात सय ग्राम चामल रासन उपलब्ध गराईएको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताउनुभयो । तर पलले अझै अचानक सिर्जित परिस्थितिलाई आत्मसात गर्न सकेका छैनन् । त्यसैले उनले आफन्तबाट खाना मगाएर खाइरहेका छन् । सधैं लाइमलाइटमा शुटिङ क्रिउसँग रमाउने बानी परेका पलले कारागारमा पुस्तक पढ्ने, आफन्तसँग भेटघाट गर्ने गरेर दिन बिताइरहेका छन् ।
यसैबीच नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पलको तर्फबाट जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध मंगलवार उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ ।