काठमाडौं । अर्को साता चैत्र १८ गतेदेखि देशभर रिलिजको तयारीमा रहेको फिल्म हो ‘हेल्लो जिन्दगी’ । फिल्मको मिति नजिकिएसँगै पब्लिसिटीलाई व्यापाक बनाउनुपर्ने हो । तर पब्लिसिटीमा जुट्नुपर्ने मूख्य कलाकारहरुबाटै असहयोग भएपछि हेल्लो जिन्गीलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ ।
फिल्म रिलिजको क्रममा फिल्मको प्रचारप्रसार गर्ने जिम्मा फिल्मका कलाकारहरुकै हो । तर हेल्लो जिन्दगीको पब्लिसिटीमा भने फिल्मका कलाकारहरुले उत्ति चासो दिएको पाइदैन । त्यसो त फिल्म रिलिजको समयमा कलाकारहरुले पब्लिसिटीमा साथ नदिनु नेपाली फिल्म क्षेत्रको स्थायी समस्या नै हो । पारिश्रमिक बुझिसकेपछि प्रायः कलाकारहरु विभिन्न बहानामा प्रचार–प्रसारबाट पन्छिन खोज्छन् अनि निर्माता तथा निर्देशकहरु मिडियामा गुनासोको पोको खोल्न शुरु गर्छन् ।
हुन पनि, करोडौंको लगानीमा बनाएको फिल्मको प्रचार–प्रसारमा कलाकारले साथ नदिँदा निर्मातालाई पीडा हुन्छ नै । यो शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जिन्दगी’को हकमा पनि यस्तै भएको छ । फिल्मको रिलिज र प्रचारकै लागि भनेर बेलायतबाट नायक विक्रम डि जोशी र अमेरिकाबाट निर्देशक एभरेष्ट सूर्य बोहोरा केही दिन अघि नै नेपाल आइसकेका छन् । तर, फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका दुई नायिका प्रियंका कार्की र दीपिका प्रसाईंले भने पब्लिसिटीमा नाकमुख देखाएका छैनन् । यतिसम्मकी यी दुई नायिकाले फिल्मको गीतदेखि ट्रेलर समेत सामाजिक सञ्जालमा शेयरसम्म गरेका छैनन् । यस्तो लाग्छ, उनीहरुलाई ‘हेल्लो जिन्दगी’ कहिलेदेखि चल्दैछ भन्ने समेत पत्तो छैन , कानमा तेल हालेर बसेका छन् ।
पारिश्रमिक लिएर फिल्ममा अभिनय गरेपछि प्रचारमा हिँड्नु कलाकारको धर्म हो । तर, प्रियंका र दीपिकाले फिल्मको प्रचार–प्रसार नै बहिष्कार गरेका छन् । राजधानीमा आयोजित फिल्मको एक गीत सार्वजनिक कार्यक्रममा समेत दुवै अभिनेत्री उपस्थित नभएपछि निर्देशक एभरेष्ट सूर्य बोहोरा आक्रोशित भए । विभिन्न बहाना बनाएर अभिनेत्रीहरु कार्यक्रममा उपस्थित हुन नमानेको बताउँदै उनले यस्ता कलाकारहरुकै कारण नेपाली फिल्मलाई दुर्गतिको बाटोमा धकेलेको बताए । पूरा पारिश्रमिक लिएपछि फिल्मको प्रचारमा हिँड्नु पर्ने उनको भनाई छ । तर फिल्मका दुवैजना अभिनेत्रीले विभिन्न वहाना बनाएर प्रचारप्रसारमा सहयोग नगरेकोमा निर्देशक बोहोराले आपत्ति जनाएकाछन् ।
फिल्म क्षेत्रमा धेरै राम्रो कलाकारहरु भए पनि केही कलाकारहरुलाई भने व्यवसायिक धर्म समेत थाहा नभएको उनको भनाइ छ । पैसा लिने बेला अगाडि पुग्ने तिनै कलाकारहरु पैसा लिइसकेपछि अनुहार पनि देखाउन नआएको भन्दै उनले आक्रोश पोखे । उनले हेलो जिन्दगीका दुवै अभिनेत्रीहरुले रोनाधोना गर्दै विभिन्न बहाना बनाएर छायांकन नसकिँदै पूरा पारिश्रमिक लिएको दाबी गरे । फिल्मका अभिनेत्री प्रियंका आमा बनेका कारण कार्यक्रममा उपस्थित हुन नसकेको मान्न सकिए पनि दीपिकालाई आफूले पटक पटक लिखित रुपमा म्यासेज पठाउँदा विभिन्न वाहना बनाएको भन्दै आक्रोश व्यक्त गरे । आफूले पठाएको म्यासेजमा दिपीकाले पहिले शुटिङको दौरानमा कुनै बेला चित्त दुखाएको भन्दै प्रचारमा नहिड्ने जवाफ पठाएको निर्देशक बोहोराले बताए ।
यसबाट फिल्मको प्रमोशनपछि मात्र कलाकारलाई पूरा पारिश्रमिक दिनुपर्ने पाठ सिकेको निर्देशक बोहोराले बताए । पारिश्रमिकका सन्दर्भमा निर्देशक बोहोराले खुलाउन नचाहे पनि फ्राइडे फिल्मसलाई स्रोतबाट प्राप्त जानकारी अनुसार हेल्लो जिन्दगीका लागि दीपिकालाई ११ लाख र प्रियंकालाई निर्माण टिमले साढे पाँच लाख पारिश्रमिक तिरेको छ । दुई अभिनेत्रीले साथ नदिएपछि नायक विक्रम डि जोशी यतिबेला एक्लै प्रचारमा दौडिरहेका छन् ।
यो शुक्रवार रिलिज हुने तय भए पनि बलिउड मेगा बजेट र मेगास्टार फिल्म आरआरआरसँग जुध्ने भए पछि ‘हेल्लो जिन्दगी’ को रिलिज मिति एक साता पर धकेलिएको छ । अर्थात यही चैत १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हेल्लो जिन्दगी’ मा लेखन तथा निर्देशन एभरेष्ट सूर्य बोहराको रहेको छ । फिल्ममा विक्रम र दीपिकाको साथै प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, निर्देशक बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ ।
वास्तविक घटनाबाट प्रभावित भनिएको यो फिल्मको अधिकांश छायांकन बेलायतमा भएको हो । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्मको निर्मातामा विक्रम डि जोशी र हिराल जोशी छन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह–निर्मात्रीमा सबिता गुरुङ छिन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले मिलेर तयार पारेका हुन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।