काठमाडौं । नेपाली काँग्रेसका अधिकांश नेता आगामी स्थानीय तहको चुनावमा गठबन्धनसहित जानुपर्ने पक्षमा देखिएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनसहित चुनाव लड्ने मनस्थितिमा रहे पनि संस्थापन इतर समूहका नेता शेखर कोइराला भने एक्लै चुनाव लड्नुपर्ने अडानमा हुनुहुन्छ ।
सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका पार्टीका अर्का नेता रामचन्द्र पौडेलले पनि चुनावसम्मै गठबन्धन कायमै रहने बताउँदै आउनुभएको छ । प्रमुख प्रतिपक्षी दल एमालेसँग सत्ता गठबन्धनका दलहरूले चुनावी तालमेल गर्ने सम्भावना रहेकोले गठबन्धनसहित चुनावमा जानुपर्ने सभापति देउवाको बुझाइ छ ।
विशेष गरी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गर्दा कांग्रेसलाई देशैभर क्षति हुने त्रास कांग्रेसमा देखिएको छ । सोही चुनावी अंकगणितको लेखाजोखा गरेर देउवाले चुनावी गठबन्धन आवश्यक ठानेको उहाँ निकट नेता बताउँछन् ।
नेता कोइरालाले भने कांग्रेस आफैंमा शक्तिशाली पार्टी भएकाले अन्य दलहरूको साथ आवश्यक नरहेको बताउदै आउनुभएको छ । कोइरालाले चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न दिने भए दिउँ भनेर देउवासँग प्रस्ताव समेत गर्नुभएको छ ।
केन्द्रीय सदस्य ध्यानगोविन्द रन्जितले केन्द्रदेखि स्थानीय तहसम्म चुनावी तालमेल आवश्यक रहेको बताउनुभयो । कांग्रेस पहिलो पार्टी बनेर देश हाँक्न पनि चुनावी गठबन्धन आवश्यक रहेको उहाँको भनाइ छ । यद्यपि पार्टीको चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिको रिपोर्टको आधारमा निर्णय लिनु राम्रो हुने उहाँले बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य ध्रुव वाग्लेले पनि कांग्रेस अन्य कुनै दलसँग मिलेर जाँदा राम्रो हुने बताउनुभयो । जारी पार्टीको केन्द्रीय समिति बैठकमा पनि यही विषयमा छलफल भएकाले छलफलको आधारमा औपचारिक निर्णय लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अर्की केन्द्रीय सदस्य सुजाता कोइराला पनि चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । तर कुन दलसँग कसरी गठबन्धन गर्दा फाइदा हुन्छ त्यो पार्टीमा छलफल गरेर मात्रै निर्णय लिनुपर्ने उहाँको भनाइ छ । यसअघिको चुनावमा भएका कमजोरीलाई पनि सच्याउन उहाँले नेतृत्वलाई आग्रह गर्नुभएको छ ।