महोत्तरी । प्रहरी हवल्दार हूँ भन्दै सुनचाँदी लुटपाट गर्ने एक जनालाइ प्रहरीले बर्दिबासबाट पक्राउ गरेको छ ।
बर्दिबास–१ घर भएका ३४ वर्षीय मनोज ठाकुरलाई शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।
बर्दिबासस्थित सुनचाँदी पसलहरुले बनाउन अर्डर दिएको सुनचाँदी पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स झापा लैजाने क्रममा प्रहरी हूँ भन्दै झण्डै १३ केजी सुनचाँदी लुटपाट गरेको ठाकुरमाथिआरोप लागेको छ ।
८ चैतमा पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटेले हायस गाडीमा उक्त सुनचाँदी लैजाने क्रममा मोरङको बेलबारी नगरपालिका वडा न ४ सिमसार क्षेत्रबाट प्रहरी हवल्दार भएको बताउँदै सुनचाँदी बोकेको झोला लिएर ठाकुर भागेका थिए ।
प्रहरी हवल्दार हूँ तेरो साहुलाई प्रहरी कार्यालयमा पठाइदे भन्दै आफूले बोकेको झोला लिएर भागेको कालिकोटेले बताए ।
कागजातसहित सुनचाँदी प्रहरीले नै नियन्त्रण लिएको हुनसक्ने भन्दै बेलबारी प्रहरी कार्यालय पुग्दा बल्ल चोरी भएको थाहा पाएको कालिकोटेले बताए ।
कालिकोटेको बयान र जाहेरीको आधारमा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय वेलबारीको टोलीसमेत बर्दिबास आइपुगेको थियो ।
इलाका प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलबारीको सयुक्त टोलीले अनुसन्धानको क्रममा ठाकुरको घरमा खानतलासी भएको थियो ।
खानतलासीको क्रममा उन्को घरवाट १२ केजी ८८२ ग्राम सुनचाँदी बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिनुभयो ।
आरोपित ठाकुरलाइ इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरि बेलबारी प्रहरीलाइ बुझाएको छ । ठाकुरलाइ प्रहरी हिरासतमा नै राखेर थप अनुसन्धान गर्ने प्रक्रिया अगाडी बढाइएको बेलबारी इलाका प्रहरीले जनाएको छ ।