काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुग्नुभएको छ ।
पाकिस्तान, अफगानिस्तान र भारत हुँदै उहाँँ विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको हो ।
परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणमा उहाँ नेपाल आउनुभएको हो । चिनियाँ विदेशमन्त्रीको रुपमा वाङको यो तेस्रो नेपाल भ्रमण हो ।
उहाँलाई बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा राखिएको छ । शुक्रबार उहाँको कुनै औपचारिक कार्यक्रम भने छैन ।
तर चिनियाँ विदेशमन्त्री वाङ शुक्रवार साँझ काठमाडौंस्थित चिनियाँ दूतावास जानुहुने छ । त्यहाँ उहाँले चिनियाँ राजदूत र नेपालमा रहेका चिनियाँ समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
शनिबार विहान हाइकिङको लागि उनी शिवपुरी पुग्नेछन् । हाइकिङबाट फर्केपछि विहान १० बजे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नुहुनेछ ।
परराष्ट्र मन्त्रालयमा नै दुई देशका विदेशमन्त्रीको उपस्थितमा नेपाल–चीन उच्चस्तरीय बैठक बस्ने छ । बैठक सकिएपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका छ ।
सिंहदरबारबाट निस्केपछि शनिबार दिउँसो उहाँ प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।
चिनियाँ विदेशमन्त्री वाङ आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम रहेको छ । त्यसपछि उहाँले आइतबार नै मध्यान्ह नेकपा एमालेका अध्यक्ष कृपी शर्मा ओली। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँग भेटवार्ता गर्ने कार्यक्रम छ । ओली र दाहालसँगको भेट नक्सालस्थित होटेल मेरियटमा हुनेछ । वाङ आइतबार नै स्वदेश फर्कने कार्यतालिका छ।