काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न ६ वटा मापदण्ड पारित गरेको छ ।
विहीवार सम्पन्न केन्द्रीय कमिटीले स्थानीय तह निर्वाचनको उम्मेदवारको मापदण्ड पारित गरेको हो । मापदण्ड अनुसार वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, गाउँपालिकाको सिफारिससहित जिल्ला कमिटीले निर्णय गर्नेछ । यसैगरी गाउँ नगरका प्रमुख उपप्रमुखको गाउँ र नगर तथा जिल्लाको सिफारिसमा प्रदेशले निर्णय गर्नेछ ।
महानगर र उपमहानगरको उम्मेदवारको हकमा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रले निर्णय गर्ने भएको छ । पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता,निर्वाचित जनप्रतिनिधिको मुल्यांकन,लोकप्रियता र विजयको सुनिश्चितता,योगदान र पार्टीप्रतिको निष्ठा तथा कार्यक्षमता, सुशासनप्रतिको दृष्टिकोण र सन्तुलन र समावेशीतालाई आधार बनाइएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
बैठकले यी लगायत विभिन्न ११ वटा निर्णय पनि गरेको उहाँले बताउनुभयो ।
एमाले बैठकले स्थानीय निर्वाचन घोषणापत्र तयारीका लागि कार्यदल गठन गरेको छ । एमालेले बैशाख नौ गते निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने गरी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको हो ।
त्यस्तै पार्टीको बार्षिक क्यालेन्डर प्रकाशन गर्ने, बैशाख नौ गते पार्टी स्थापना दिवस सिर्जनशील ढंगले मनाउने जुन दिन केन्द्रमा घोषणापत्र र स्थानीय तहमा प्रतिवद्धता जारी गर्ने एमाले केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।
त्यस्तै केन्द्रीय कमिटी बैठकले सवै केन्द्रीय सदस्यहरुलाई स्थानीय तह निर्वाचन पार्टीको पक्षमा पार्न आ आफ्ना भूगोलमा केन्द्रीत हुन निर्देशन पनि दिएको छ ।