काठमाडौं। नेकपा एमालेको केन्द्रीय समितिको बैठकस्थलमा कुटाकुट गरेका पत्रकारबीच मिलापत्र भएको छ।
बाह्रखरी अनलाइनका फोटो पत्रकार हरिश क्षेत्री र हिमालय टेलिभिजनका क्यामेरा पर्सन श्याम थापाबीच मिलापत्र भएको हो। बुधवार बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमालेको बैठकको रिपोर्टिङका लागि खटेका उनीहरुबीच कुटाकुट भएको थियो ।
राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र हिमालय टेलिभिजनका प्रशासन प्रमुख राजेश श्रेष्ठको मध्यस्थतामा क्षेत्री र थापाबीच मिलापत्र भएको हो। मिलापत्रमा दुवैजनाले हस्ताक्षर गरेका छन् ।
बैठक स्थलबाहिर दुई जनाबीच कुटाकुट र भिडन्त भएको भिडिओ सामाजिक सञ्जालमा फैलिएको थियो। केहीले उक्त भिडन्त प्रचार गरिएजस्तो एमालेका कार्यकर्ताबीच भएको भन्दै प्रचार गरेका थिए ।
झगडको कारण ?
मध्यान्ह १२ बजे एमालेको केन्द्रीय कमिटी बैठक शुरु हुनु अगाडि नै पत्रकारद्वय क्षेत्री र थापाबीच भिडन्त भएको थियो । हरिश क्षेत्रीले आफूलाई ‘पागल’ भनेकाले उसलाई हात हालेको श्याम थापाले बताएका छन्। त्यहाँ उपस्थित पत्रकारहरुले नै उनीहरुलाई छुटाउन खोजे पनि नसकेपछि अन्त्यमा प्रहरीले छुटाइदिएका थिए ।
उनीहरुबीच २७ पुसमा पृथ्वी जयन्तीको फोटो खिच्दा पनि विवाद भएको श्याम थापाले बताए ।
सिंहदरबारबाहिर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा भिडिओ खिच्दा छेकिएको बारे झगडा भएको थियो।
दोस्रो पटक नेकपा माओवादी केन्द्रको कार्यक्रममा पनि दुईजनाबीच विवाद भएको बताइएको छ । बुधबार एमाले बैठकस्थलबाहिर भने दुवैजनाले कुटाकुट नै गरेका थिए ।