काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्नुभएको छ ।
काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याउनुभएको हो ।
अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गर्नुभएको हो ।
एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताउनुभयो ।
उहाँले देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको जानकारी दिनुभयो । अध्यक्ष ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने करिश्माको भनाइ थियो ।
करिश्माले एमाले अध्यक्ष ओलीको व्यक्तित्व र कार्यशैली, एमालेको नीति र देशभर देखिएको जनलहरका कारण आफूले एमाले रोजेको प्रष्ट पार्नुभयो, नेता भनेको जनताको पथप्रदर्शक हो । त्यो म ओलीजीमा पाउँछु ।’ सबै पार्टीले लोकतन्त्र, गणतन्त्र अपनाएका भए पनि एमालेले त्यस अतिरिक्त समानता र सामाजिक न्यायसहितको समृद्धि भन्ने नारा बोकेर पिछडिएका वर्गको उत्थान गर्ने र देश विकास गर्ने नीति अपनाएका कारण पनि आफूले एमाले रोजेको उहाँको भनाइ थियो ।
उहाँले अभिनय क्षेत्रमा झण्डै तीन दशक काम गरे पनि देशका लागि अझै केही गर्न सक्छु भन्ने लागेर आफू एमालेमा जोडिएको बताउनुभयो ।