मोरङ । मोरङको लेटाङमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरीकै ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएर प्रहरीले सोमबार बिहानदेखि सर्च अपरेसन तिब्र पारेको छ।
मोरङको लेटाङमा आइतबार भएको झडपमा एक महिला प्रहरीको ज्यान गएको थियो । खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठले ज्यान गुमाएकी थिइन्। भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो।
झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरूवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ।
लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ ।
आइतबारको घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोमबार बिहान खेरूवाबाट ५ जनालाई नियन्त्रणमा लिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।
एक महिला प्रहरी जवानको मृत्यु हुनुका साथै मोरङ प्रहरी उपरीक्षकसहित २ दर्जन बढी घाइते भएका थिए। तीमध्ये केही सामान्य र केही गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो। घाइतेहरूको मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा पढ्ने एक छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थी र गाउँले बिहानैदेखि प्रदर्शनमा ओर्लिएका थिए।
आक्रोशित विद्यार्थी र स्थानीयले शिक्षक र स्थानीय जनप्रतिनिधिलाई कोठामै थुनेर प्रदर्शन गर्दै आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।
प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल जलाइदिएका छन्।
भीडले उग्र रूप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेको थियो।
स्थानीयका अनुसार यसक्रममा एक युवकलाई पनि गोली लागेको छ।
चैत ४ अर्थात तराईको होलीका दिन ती शिक्षक छात्राको घरमा पुगेका थिए। घरमा पुग्ने बित्तिकै उनले विद्यार्थीसँग पानी मागेका थिए। पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफूमाथि दुर्व्यवहार गरेको छात्राले बताएकी छन्।