काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन राजीनामा दिनुपर्ने निर्वाचन आयोगले लागु गरेको आचारसंहिता बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर गर्न माग गर्दै आइतबार रिट दिनुभएको हो ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिट दर्ता भने भएको छैन। उक्त रिट अध्ययनकै क्रममा रहेको र दर्ता हुने नहुने सोमवार निर्णय हुने पौडेलले जानकारी दिनुभयो ।
हेलम्बु गाउँपालिका प्रमुख शेर्पाले आयोगको आचारसंहिता संविधान र कानुन विपरित भएको भन्दै आफूले रिट दिएको बताउनुभयो ।
‘संविधानले तीन तहको सरकार हुने भनेको छ। माथिल्ला सरकारका प्रमुख भने झन्डा हल्लाउँदै फेरि उम्मेदवार हुन पाउने गाउँ(नगरपालिकाका जनप्रतिनिधिले भने एकमहिना अगावै राजीनामा दिनुपर्ने आचारसंहिताले असमान व्यवहार गर्यो, त्यसमाथि उमेदवारी दिएको एकमहिनासम्म स्थानीय तह जनप्रतिनिधिविहीन हुने भए। त्योबेला जनताले पाउने सेवा सुविधा कसले दिन्छरु त्यसैले संहिताको उक्त प्रावधान खारेज गर्न माग गर्दै रिट दिएको हुँ,’ उहाँले बताउनुभयो ।
पालिका प्रमुख उपप्रमुखले एकअर्कालाई राजीनामा बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
दुवै निर्वाचनमा सहभागी हुन मन भए कसलाई राजीनामा बुझाउने भन्ने प्रश्न पनि उठ्ने उहाँले बताउनुभयो ।
यो संहिताले चुनाव लड्न पाउने अध्यक्ष÷उपाध्यक्ष मध्ये हकलाई पनि असर गर्ने भएकोले खारेज हुनुपर्ने उहाँको जिकिर छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ३ गते आचारसंहिता सार्वजनिक गरेको थियो।