लन्डन । नेपालबाट चोरी गरिएका १६ औं र १८ औं शताब्दीतिर कुँदिएका दुईवटा मूर्तिहरू नेपाल फिर्ता हुने भएका छन् ।
लन्डनमा भेटिएका ती मूर्तिहरू लन्डन मेट्रोपोलिटन प्रहरीले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच लन्डन मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले राजदूत ज्ञानचन्द्र आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
ढुंगा तथा काठमा कुँदिएका उक्त मूर्तिहरु १६ औं शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरण जुन १९८० देखि १९९० को दशक बीचमा काठमाडौं हनुमानढोका कुमारी बहाबाट हराएको थियो । यसैगरी १८ औं शताब्दीतिर कुँदिएको घुंडा टेकेर नमस्ते मुद्रामा रहेको ढुंगाको मूर्ति काठमाडौं ओमबहालस्थित मन्जुश्री मन्दिरबाट हराएको थियो ।
गैरकानूनीरूपमा प्राचीन सामग्री ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट लन्डन महानगरीय प्रहरीले ति मूर्ति बरामद गरेको हो । गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको छ ।
राजदूत ज्ञानचन्द्र आचार्यले हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा बेलायत सरकार तथा प्रहरीलाई नेपाल सरकार र दूतावासको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बरामद गरिएका प्राचीन सम्पदा फिर्ता गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
हस्तान्तरण गरिएका मूर्ति चाँडै नै नेपालको पुरातत्व विभागमा पठाउने व्यवस्था मिलाउने राजदूत आचार्यले बताउनुभयो ।
ग्लास्गो युनिभर्सिटीमा अपराधविज्ञानकी प्राध्यापक डा इमिलिन स्मिथले नेपाललाई ति सांस्कृतिक वस्तु फिर्ता गर्ने कार्यमा संलग्न हुन पाएकामा गर्व लागेको बताउनुभयो ।
लन्डनस्थित नेपाली दूतावास र बेलायतको मेट्रोपोलिटन प्रहरीले सांस्कृतिक धरोहर संरक्षणमा निकट रहेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।