काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ ।
आज राजपत्रमा प्रकाशित भएको आचारसंहितामा स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ । स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गतेका लागि तोकिएको छ । उक्त चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दावेदार छन् । तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघिनै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता बनाएको हो । यस्तै, केन्द्र र प्रदेश सरकारका मन्त्रीहरुसँगै स्थानीय कार्यापालिकाका पदाधिकारीहरु पनि अन्य उम्मेदवारको चुनाव प्रचारमा सहभागी हुन नपाउने भएका छन् । यस्तै आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्सबोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ ।
आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नु भन्दा ७२ घण्टा अघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान राखिएको छ । निर्वाचन प्रचार प्रसारको काम पनि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने आचारसंहितामा उल्लेख छ ।
आयोगले सामाजिक संजाल फेसबुक, ट्विटर, युट्युब लगायतलाई लक्षित गरेर समेत आचारसंहितामा जारी गरेको छ । निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सञ्जालमा झुटा साइट र एकाउण्ट सञ्चालन गर्न नहुने उल्लेख छ ।
सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने भनिएको छ ।आचार संहिता राजपत्रमा प्रकाशित भएपनि कहिलेबाट लागू हुने भन्ने आयोगले तोक्नेछ ।