बुटवल । बुटवलको तिनाउ इन्टरनेशनल अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् ।
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका डाक्टरको लापरबाहीले चौधरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अस्पताल घेराउ गरेका छन्। उनीहरुले घटनाको छानबिन, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन्। मृतकका आफन्तले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार साँझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो। ताराप्रसादको डा योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेको थियो।
‘३–४ घण्टामा अप्रेसन सकिन्छ भनिएको थियो तर राति ११ बजेमात्रै अप्रेसन थियटरबाट निकालेर आईसीयूमा लैजान खोजेपछि शंका लागेर सोध्यौं, अवस्था नर्मल छ आत्तिनुपर्दैन भनेका थिए। फेरि ५ बजेतिर बोलाएर अवस्था सिरियस छ, भेन्टिलेटरमा राखेर हेरौं भनेका थिए। तर, त्यसको केहीबेरमै मृत्यु भएको भनियो’, भान्जा हेमलालले भन्नुभयो ।
४ वर्षअघि दुर्घटनामा खुट्टा भाँचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएको थियो। रडको नट भाँचिएपछि शल्यक्रिया गर्न भर्ना गरिएको थियो।
उपचारअघि गरिएको एक्सरेमा रड भाँचिएको नदेखिएको तर पछि रड भाँचिएको भनिएको हेमलालले बताउनुभयो । ।
उपचारमा संलग्न चिकित्सकहरुलाई उदृढ गर्दै अस्पतालका अध्यक्ष चिरञ्जीवी जोशीले भने बिरामीको ५ घण्टा लामो अप्रेसन गरिएको र अप्रेसन गर्दा उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जानकारी दिनुभयो । पछि उनलाई आईसीयूमा राखिएको तर एक्कासी रक्तचाप घटेपछि प्रयास गर्दागर्दै पनि बचाउन नसकिएको बताउनुभयो ।